निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले रहने थिएन : प्रचण्ड

273

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन सामान्य चुनाव नभएको बताएका छन् ।

बिहीबार चितवनको माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा जित हार हुने भए पनि आफूहरुका लागि स्थानीय निर्वाचन महत्वपूर्ण हुने बताएका हुन् ।

उनले भने,“निर्वाचन आउँछ जान्छ । जित र हार हुन्छ तर हाम्रा लागि यो निर्वाचन सामान्य चुनाव मात्र होइन । माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुनेछ ।”

उनले तत्कालीन नेकपा विवादमा निर्वाचन आयोगले तत्काल सनाखत गरेको भए नेकपा (एमाले) अस्तित्वमा नहुने दाबी समेत गरे । प्रतिक्रियावादीहरुको षड्यन्त्रमा दुईपटक प्रतिनिधिसभा विघटन गरिएको उनको आरोप थियो ।

“निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले भन्ने पार्टी रहने थिएन । हामी नेकपाका आधिकारिक नेता–कार्यकर्ता हुन्थ्यौँ । तर, देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्रमा यसलाई उल्ट्याइयो । त्यसपछि दुईपटकका प्रतिगमनलाई हामीले आन्दोलनबाट पराजित गर्‍यौँ,” उनले भने,“आज पनि त्यो शक्तिले षड्यन्त्र जारी राखेको छ । आज पनि सदन चल्न दिइएको छैन । त्यो प्रतिगमनकै एउटा कडी हो ।”

उनले अहिले पनि प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिको षड्यन्त्र जारी रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...