तनहुँ बन्दीपुरका ४६ घरपरिवारलाई लालपुर्जा वितरण

213

दमौली । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले तनहुँको गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई आज जग्गा धनीदर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेकी छन् ।

तनहुँको बन्दीपुर गाउँपालिकाको गाउँब्लकमा रहेका ४६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले केही समयभित्रै भूमिहीन सुकुमबासी र भूमिहीन दलितले जग्गाको लालपुर्जा पाउने गरी राष्ट्रिय भूमि आयोगमार्फत् काम भइरहेको बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत् काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि सहिद, बेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम सुरु गर्न लागिएको पनि बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...