काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधान स्वीकार गर्ने दलहरुका बीचमा हुने निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताएका छन् ।
राजनीतिशास्त्री समाजद्वारा काठमाडौँको पिके क्याम्पसमा बुधबार आयोजित ‘नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दलीय गठबन्धनको औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि दिन नसक्ने बताएका हुन् ।
‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउनमात्रै काम गर्छ । निर्वाचनमुखी गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन,’ नेता पौडेलले भने ।
जनता र जन जिविकासम्बन्धी साझा एजेन्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक
भएको उनको भनाइ थियो ।
‘विचार, विषयसँग सामिप्यता भएको समाजवाद प्राप्ति र जनताका साझा एजेन्डा निर्माण गर्ने गठबन्धन आवश्यक छ,’ पौडेले भने ।
२०७४ को निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थिरतका निम्ति भनेर गठबन्धन गरेको भन्दै उनले चुनाव जितिसकेपछि ओली अत्यन्तै अस्थिर बनेको स्मरण पनि गरे ।
‘चुनाव जित्नका लागि केपी ओलीले स्थिरताका निम्ति भनेर गठबन्धन गर्नुभयो । चुनाव जितेपछि उहाँ जत्ति अस्थिर कोही भएन,’ पौडेलले भने, ‘त्यस्तो गठबन्धन गर्नुहुँदैन । स्थिरताको पक्षमा देखिने गठबन्धन हुनुपर्छ ।’