चार महिनापछि देउवा–शेखर संवाद, चुनावी तालमेलबारे छलफल

199

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सकिएको ४ महिनापछि सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाबीच संवाद भएको छ ।

गएको मंसिरमा सभापतिमा भिडेर दोस्रो चरणमा देउवा विजयी भएपछि कोइरालाले टेलिफोनमार्फत बधाई दिएका थिए । त्यसपछि भेटेर बधाई दिने बताएका कोइरालालाई सभापति देउवाले अहिलेसम्म व्यक्तिगत भेटसमेत दिएका थिएनन् । बैठक–छलफलका सामूहिक भेटबाहेक देउवा र कोइरालाबीच व्यक्तिगत रुपमा टेलिफोन वा प्रत्यक्ष संवाद भएको थिएन ।

बुधबार बिहान भने सभापति देउवाले कोइरालाई टेलिफोन सम्पर्क गरेका हुन् । दुई नेताबीच पार्टी सञ्चालका विषयमा कुराकानी भएको बताइएको छ । सो क्रममा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीका आन्तरिक निर्णयहरुमा सबैलाई समेटेर जान आफू प्रतिबद्ध रहेको बताएका छन् ।

दुई नेताबीच केन्द्रीय समितिको बैठकका अन्य एजेन्डाबारे पनि छलफल भएको बताइन्छ । सभापति देउवा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पक्षमा छन् । कोइराला भने कांग्रेस एक्लै निर्वाचन लड्नुपर्ने अथवा तालमेलबारे निर्णय लिन स्थानीय समितिलाई नै अधिकार दिनुपर्ने बताउँदै आएका छन् ।

केन्द्रीय समितिको आगामी बैठकबाट तालमेलको पक्षमा सर्वसम्मत निर्णय लिन सभापति देउवाले पनि आन्तरिक छलफल अगाडि बढाएका छन् । देउवा र कोइरालाबीच केन्द्रीय समिति बैठक अगावै भेटेर थप छलफल गर्ने सहमति पनि बनेको बताइन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...