देशको रक्षा र स्थायित्वका लागि कांग्रेससँग सहकार्य : देव गुरुङ

105

कास्की । नेकपा (माअ‍ोवादी केन्द्र)का स्थायी समिति सदस्य एवम् प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश र संविधानन रक्षा र स्थायित्वका लागि माओवादीले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढेको बताएका छन् ।

पोखरामा मंगलबारदेखि सुरु भएको माओवादी गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उनले कांग्रेससँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र संघीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको उल्लेख गरे ।

“माओवादीको पहल कदमीमा कांग्रेससहित शक्तिसँग मिलेर प्राप्त उपलब्धिको रक्षाका लागि अहिलेको गठबन्धन बनेको हो,” उनले भने । नेपालमा स्थिरता र स्थायित्व कायम गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको नेता गुरुङको भनाइ थियो ।

आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा लोकतन्त्रको रक्षाका लागि माओवादीले जित्नैपर्ने उल्लेख गर्दै नेता गुरुङले भने,“माओवादीले जितेन भने देशको संविधान र संघीयता धरापमा पर्छ । अहिलेको सबै खालको परिवर्तन माओवादीको एजेन्डा भएकाले यसको रक्षाका लागि माओवादीले जित्नुनको विकल्प छैन ।”

आगामी स्थानीय तहको निर्वाचनमा माओवादी अरुसँगको तालमेलमा भर पर्न नहुने उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...