प्रचण्डले भने– मन्त्रिपरिषद् हेरफेर हुने सम्भावन छ

241

काठमाडौँ । सत्ता साझोदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मन्त्रिपरिषद्‍मा हेरफेर हुन सक्ने बताएका छन् ।

पार्टीले आयोजना गरेको चुनाव लक्षित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आज बिहान जनकपुर पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा मन्त्रिपरिषद्‍मा परिवर्तन हुने सम्भावना रहेको जानकारी दिएका हुन् ।

“मन्त्रिपरिषद्‍मा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको चाहिँ छैन, सम्भावना चाहिँ छ,” उनले भने,“केही मन्त्रालयल हेरफेर हुने सम्भावना पनि छ, केही नयाँ आउने सम्भावना पनि छ ।”

हाल रक्षा मन्त्रालय र उद्योग मन्त्रालय राजनीतिक नेतृत्वविहीन अवस्थामा छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममै मन्त्रिपरिषद् पुनःगठन हुनसक्ने प्रचण्ड बताए ।

प्रधामन्त्री शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन र नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी बनाएका कारण माओवादी लचिलो हुँदै आएको उनले बताए ।

“पहिले प्रधानमन्त्रीले पनि मेरो पार्टीको महाधिवेशनसम्म हेर्दिनुस् भन्नुभयो । माधवजीले पनि मेरो पार्टी नयाँ छ भन्नुभयो । हामीले सबैको अप्ठ्यारो बुझ्यौँ । अब चाहिँ मन्त्रिपरिषद्‍मा हामीलाई सम्मानजनक हैसियत चाहिन्छ,” उनले भने ।

उनले चुनावी तालमेलबारे गठबन्धनको नेतृत्व तहमा कुनै तिक्तता नभएको बताए । एक्लै चुनाव लड्न र जित्नसक्ने संगठन माओवादीसँग भएपनि सत्ता गठबन्धनलाई बचाएर लैजान चाहेको उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...