एमाले बैठक : वाम एकता गरेर जानुपर्ने भुसाल र पन्तको प्रस्ताव, महेश र हिक्मतको काउन्टर

389

काठमाडौँ । नेकपा (एमाले)का नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरुबीच नै गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेका छन् ।

सोमबार काठमाडौँमा सुरु भएको एमाले पोलिटब्युरो बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् । उनले एमाले वाम एकताको मूलप्रवाह भएकाले यसका लागि पहल गर्नुपर्नेसमेत उल्लेख गरे ।

आगामी स्थानीय निर्वाचनका लागि रणनीति बनाउन बसेको यो बैठकमा भुसालसँगै अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि वाम एकताको पक्षमा आफ्ना कुरा राखेका छन् ।

दुवै नेताले बृहत् वाम एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नोतर्फबाट पहलकदमी लिनुपर्ने धारणा राखेका थिए ।

“देशमा बृहत् वाम एकताको आवश्यकता छ । वामपन्थीहरु मिलेर जानु राम्रो हुन्छ । अहिले एकता सम्भव नभए पनि आगामी चुनावमा तालमेल वा गठबन्धनबाट अघि बढ्न सकिन्छ,” भुसालको भनाइ उद्धृत गर्दै एक नेताले भने,“यसको प्रस्थानबिन्दु आगामी निर्वाचन हुनसक्छ । वामपन्थी दलहरुबीच सहकार्य बढाउँदै गएर एकतासम्म पुर्याउन अध्यक्ष कमरेडले पहलकदमी लिँदा राम्रो हुन्छ ।”

अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तको पनि जोड त्यसमै थियो । वाम एकताका लागि ओलीले पहलकदमी लिएर अघि बढ्दा उचित हुने कुरा उनले पनि बैठकमा राखेका थिए ।

नेकपा विभाजित भएपछि एमालेमा देखिएको अन्तरसंघर्षका क्रममा भुसाल र पन्त दुवैजनाले माधव नेपाललाई साथ दिएका थिए । भुसाल र पन्त १० बुँदे सहमति गरेर नेकपा (एमाले)मा रहने समूहका नेता तथा तत्कालीन कार्यदलका सदस्यहरु पनि हुन् ।

नेता भुसाल र पन्तको सो प्रस्तावमा पोलिटब्युरो सदस्य महेश बस्नेतले भने फरक मत राखेका थिए ।

उनले प्रचण्ड–माधव समूहमा रहेका कार्यकर्तालाई एमालेमा प्रवेश गर्न आह्वान गर्ने र देशभर नेकपा एकताको निरन्तरताका रुपमा माओवादी पंक्तिलाई एमालेमा समेट्ने बताए । उनले नेता मिलाएर पार्टी बलियो नहुने भन्दै कार्यकर्तालाई एमालेमा ल्याउने तर अहिले प्रचण्ड र माधवसँग सहकार्य गर्न नसकिने बताए ।

उनले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा पनि नेपालमा अब दुईध्रवीय राजनीति रहेकाले दुई पार्टी प्रणालीमा जाने गरी थप गर्न सुझाव दिएका छन् ।

नेता बस्नेतको कुरामा साथ दिँदै अर्का स्थायी कमिटी सदस्य हिक्मत कार्कीले पनि प्रचण्ड र माधव नेपालसँग सहकार्य सम्भव नरहेको कुरा राखेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...