क्रान्तिकारी पार्टी निर्माणमा लागेका छौँ : प्रचण्ड

240

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आठौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीलाई रुपान्तरण गरी क्रान्तिकारी बनाउने अभियान सुरु भएको बताएका छन् ।

पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक एवम् वैचारिक प्रशिक्षण कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले माओवादीको नेतृत्वमा परिवर्तनको रक्षा र देश विकास हुने स्पष्ट भएकाले नयाँ आधारमा पार्टीलाई रुपान्तरण गर्दै अघि बढाउनुपर्ने खाँचो औँल्याए ।

“विभिन्न शक्तिहरु माओवादीलाई कमजोर बनाउन लागिपरेका छन् । माओवादी कमजोर हुँदा अहिलेको व्यवस्था र परिवर्तनका एजेन्डाहरुसमेत कमजोर हुन्छन् । सबै नेता कार्यकर्ताले पुनः एकपटक पार्टीलाई शक्तिशाली बनाउन पार्टी निर्माणको अभियानमा लाग्न आग्रह गर्दछु,” उनले भने ।

अध्यक्ष प्रचण्डले प्रतिगमन विरोधी आन्दोलनले जनता अग्रगमनका पक्षमा भएको पुष्टि गरेको र त्यसको प्रमुख नेतृत्व माओवादीले गरेकाले पार्टीको रुपान्तरण गर्दै नयाँ पार्टी निर्माण सम्भव भएको उल्लेख गरे । “पार्टीलाई क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यत्तिकै छोडिदिने ? बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको अन्दोलनले देखायो,” उनले भने,“फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका छौँ ।”

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन पार्टीका लागि जीवनमरणको सवाल रहेको उल्लेख गर्दै सोहीअनुसार गाउँगाउँमा संगठन विस्तार र सुदृढीकरणका कार्यक्रम लिएर जान नेता कार्यकर्तालाई निर्देशन दिए ।

Share This:
सम्बन्धित खबर
Loading...