ओलीले झलनाथ खनाललाई भने– एमालेले लगाइदिएको जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने ?

352

इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाललाई लक्षित गरेर एमालेले लगाइदिएको जुँगामा ताउ लाएर बाकस खाली गर्छु भन्ने धम्की दिएको भन्दै व्यङ्ग्य गरेका छन् ।

इलामको सूर्योदय नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेबाट चुनाव जितेर अहिले सांसद् र मेयरका रुपमा रहेको भन्दै यस्तो बताएका हुन् ।

“कम से कम एमालेले लगाइदिएको जुँगा खौरेर कुरा गर्नु नि ! कम्युनिस्टकै बर्को ओढेका अन्तरे–जन्तरेहरुले नै कम्युनिस्ट सरकार ढाल्ने काम गरे । एमालेका कार्यकर्ताले खुन पसिना बगाएर रोजगारीका लागि नगएर खर्चिएको समयमा भोट मागेर चुनाव जितेका अन्तरे–जन्तरेले राजीनामा गर्नु पर्दैन ? अलग हुनु पर्दैन ?,” उनले भने ।

एमालेले लगाइदिएको मेयर र सांसद्को फुली बोकेर ठुला कुरा गरेको भन्दै ओलीले त्यसबाट अलग हुन चुनौती दिए । ओलीले भने,“एमालेले लगाइदिएको सांसद्को फुली, मेयरको फुली फिर्ता गर्नुपर्दैन ? कति साह्रो लाज नभएको । एमालेले टाँसेको जुँगा त खौरिनुपर्छ । तिनै जुँगामा ताउ लगाएर एमालेको बाकस खाली गर्छु भन्दैछन् ? बाकस कसको खाली हुन्छ म भन्दिनँ, जनताले वैशाख ३० गते जबाफ दिनेछन्, तपाईंहरुले दिनुहुनेछ ।”

सम्बोधनका क्रममा ओलीले २०५४ सालमा दुईतिहाइ आउने बेला पनि पार्टी फुटाएको बताए । अहिले पनि एमालेलाई बहुमत आउन नदिन रोक्न पाँच दलीय गठबन्धन लागेको उनले बताए । तर, आफूहरुले गठबन्धनलाई आगामी चुनावमा कुचोलेझैँ बढारिदिने ओलीले बताए ।

“हामी चुनाव पर्खिरहेका छौँ । वैशाख ३० गते एमालेले देशभरिका पाँच दललाई एउटै कुचाले बढार्छ । जबसम्म पाँच दलीय गठबन्धनको भाँडो रित्तिदैन, तबसम्म हामी एमालेमा प्रवेश गराउँदै जाने हो,” ओलीले भने ।

Share This:
सम्बन्धित खबर
Loading...