गठबन्धन गरौँला, त्यहीँबाट चुनाव जितौँला भनेर बस्न हुँदैन : प्रचण्ड

188

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गठबन्धनको भरमा चुनाव जितिएला भनेर बस्न नहुने बताएका छन् ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा पुगेका प्रचण्डले आफ्नो खुट्टामा उभिनु पर्ने भन्दै जनतासँगको सम्बन्धलाई बलियो पार्नुपर्ने बताए ।

“आउँदै गरेको स्थानीय तहको निर्वाचनमा ध्यान केन्द्रित गरेको नै हामीले कार्यक्रम बनाएका छौँ । निर्वाचनमा कसरी जाने भन्ने सबैको चासो छ,” उनले भने, “निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ ? भन्ने जहाँ सम्मको कुरा छ, हामीले अहिले पार्टीमा जोड गरेर भनेको चाहिँ हामी गठबन्धन गरौँला, त्यहीँबाट चुनाव जितौंला भनेर बस्न हुँदैन । आफ्नै खुट्टामा उभिने हो । आफ्नै संगठनको शक्तिलाई बलियो पार्ने हो । आफ्नै जनतासँगको सम्बन्धलाई बलियो पार्ने हो ।”

पछिल्लो समय पार्टीप्रति धेरै लहर बढेको र जनचासो बढेको उनको भनाइ थियो । अहिले संविधान जोगाउने दल नै माओवादी रहेछ भन्ने छाप जनतामा परेको उनले दाबी गरे ।

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले आफूहरुलाई हेप्न थाल्यो भने गठबन्धनको विकल्प खोज्नुपर्ने बाध्यता आउने बताए ।
उनले कांग्रेस उपसभापति धनराज गुरुङले आफ्नो पार्टीलाई हात्ती र माओवादी केन्द्रलाई चमेराको संज्ञा दिँदै बोलेको कुराप्रति चित्त दुखाए ।

“यदि नेपाली कांग्रेसले हामीलाई केही केही नेताले भन्छन् नि एकजना गुरुङजी छन् नि ! हात्तीको उसमा चमेरा कि के भन्या छन् ? त्यस्तै भाषा क्या, बडो सुन्नै गाह्रो पर्ने भाषा बोल्ने तिनलाई भन्या हो, त्यस्तालाई,” उनले भने,“त्यसै गर्छन् भने त हामीले विकल्प खोज्नुपर्ने बाध्यता आउँछ । तर, अहिले हामीले त्यता सोचेका छैनौँ, अहिले गठबन्धनलाई नै लिएर जाने हो भन्न खोज्या हो ।”

उनले एमालेमाथि पनि आक्रोश पोखे । अघिल्लो वर्षयता संघीयताको पक्षधर र विरोधी दुई खेमा स्पष्ट देखिएको बताउँदै सदनमात्र नभएर संविधाननै विघटन गर्न खोजिएको आरोप लगाए ।

Share This:
सम्बन्धित खबर
Loading...