प्रणाली फेरिए पनि प्रवृत्ति बदल्न सकिएन : विन्दा पाण्डे

306

झापा । नेकपा (एमाले)की स्थायी कमिटी सदस्य विन्दा पाण्डेले हरेक मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म लैङ्गिक समानता र अधिकारको लडाइँ अपूर्ण हुने बताएकी छन् ।

रिडर्स झापाले काँकडभिट्टामा ‘धर्तीमाथिको दाबी’ नामक पुस्तकको विषयमा आयोजना गरिएको अन्तरक्रियामा उनले नेपाली समाजमा विभिन्न चरणमा भएका राजनीतिक आन्दोलनले सत्ताको प्रणाली फेरेता पनि प्रवृत्ति बदल्न नसकेको बताइन् ।

राजनीतिक दलको नेतृत्वमा समेत पितृसत्तावादी सोच हाबी रहेको जिकिर गर्दै उनले पठन संस्कृति र प्रश्न गर्ने बानीले मात्र नेतृत्वको सोच र व्यवहार बदल्न सकिने बताइन् । ‘धर्तीमाथिको दाबी’ उनको पछिल्लो प्रकाशित कृति हो । कार्यक्रममा कृतिका बारेमा सहजकर्ता सागर शिवाकोटीले विभिन्न प्रश्न गरेका थिए ।

पाण्डेले यस कृतिमा आफ्नो राजनीतिक जीवनको संघर्षदेखि संविधानसभा सदस्यको भूमिकामा रहेर लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्दाताका महिला अधिकारका लागि गरिएको रस्काकस्सीका बारेमा विशेष चर्चा गरेको कार्यक्रमका सहजकर्ता शिवाकोटीले बताए ।

सहभागीबाट सोधिएका प्रश्नहरुको जबाफ दिने क्रममा कृतिकार पाण्डेले पितृसत्ताको अन्त्य गर्नका लागि महिलावाद लागु हुनुपर्ने चर्चा गरिन् । उनले मार्क्सवाद, लेलिनवाद र माओवादी जुनसुकै वैचारिक मार्ग अपनाए पनि वर्गीय मुक्तिको कुराले मात्र महिला मुक्ति सम्भव नहुने र समानताको लडाइँका लागि महिलावाद अपरिहार्य भइसकेको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...