काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न आग्रह गरेका छन् ।
नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको उल्लेख गर्दै ज्येष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गरेका हुन् ।
“शेरबहादुर देउवा आफैँ कांग्रेसमा किन छन् भन्दा बुढा भएर पनि । उनलाई ४ हजार भत्ता के गर्न छँदै छ, त्यसकारण छन् । नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे,” ओलीले भने,“शेरबहादुरजीलाई म भन्न चाहन्छु कमसेकम ज्येष्ठ नागरिक हो । तपाईं पनि सूर्य चिन्हमा भोट हाल्नुस् अरुले देख्ने गरी ।”
कांग्रेसले बनाएको चुनावी नीतिमाथि कटाक्ष गर्दै ओलीले जे पायो त्यही बोल्ने बानी कांग्रेसको रहेको दाबी गरे । “कांग्रेसको चुनावी नीति के रे भने अघिल्लो सरकारको भण्डाफोर गरेर जान्छौँ,” ओलीले भने,“उल्ले जे पायो त्यही बोल्छ । जे पायो त्यही बोल्ने कांग्रेसको पुरानो बानी हो, तपाईं हामीले सुनेका छौँ ६० वर्षभन्दा माथिकालाई कम्युस्टिले मार्छ भन्थ्यो । अब बुढाबुढीको छेउमा कांग्रेस जाओस् त ।”
पाँच दललाई काँचो सिसाको गठबन्धन भएको उल्लेख गर्दै ओलीले जनताको आँगनमा पछार्ने उद्घोषसमेत गरे ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई ओलीले एमालेले भरिदिएको भाँडो रित्तिसकेको उल्लेख गर्दै माओवादी अब सकिसकेको दाबी गरे ।
“प्रचण्डजी तपाईं हामीले बनाइदिएको भाँडो हेरेर बसिरहनुभएको छ । त्यसभित्र त सकिसकेको छ । हामीले भरिदिएको भाँडो त सकिसकेको छ,” उनले भने,“खुरुखुरु एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छ कि छैन ? हामी खुर्कीखर्की गरेर पनि निकाल्छौँ ।”
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भने पार्टी नै नभएको उनको टिप्पणी छ । “अर्को एउटा पार्टी छ त्यो बनेको नै छैन । ध्वस्त हुन्छ, समाप्त हुन्छ अहिले मात्रै फुरफुर मात्रै हो,” उनले भने ।
एमालेले टाँसिदिएको जुँगामा ताउ लगाउने काम भएको उनको भनाइ छ ।