प्रचण्डले भने– कांग्रेसले लखेट्न खोजे एमालेसँग तालमेल नहोला भन्न सकिन्न

226

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी गठबन्धन हुने सम्भावना जिवितै रहेको बताएका छन् ।

बिहीबार बुटवालमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गठबन्धनका हिसावले तत्काल तालमेलका लागि छलफल नभए पनि कांग्रेसले लखेट्न खोजेको अवस्थामा एमालेसँग पनि ढोका बन्द नभएको बताए ।

“मैले पहिला पनि भन्दै आएको छु, राजनीति सम्भावनाहरुको खेल हो भनेर । त्यही भएर राजनीतिमा असम्भव भन्ने केही हुन्न,” उनले भने,“एमालेसँग अहिले त गठबन्धनको सम्भावना छैन तर कांग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन ।”

नेताहरुले गठबन्धन गर्न नहुने बताए पनि कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनका पक्षमा भएकाले सत्तारुढ दलबीच चुनावमा केही स्थानमा तालमेल हुन सक्ने उनले बताए ।

“हामी सबै दल आ–आफ्नै एजेन्डा लिएर चुनावमा जाने कुरा प्राथमिक हो । गठबन्धनका दलहरुबीच तालमेल गर्ने कुरा सेकेन्डरी हो । सबै ठाउँमा हुँदैन, कुनै कुनै ठाउँमा हुन पनि सक्छ,” प्रचण्डले भने ।

Share This:
सम्बन्धित खबर
Loading...