स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन सांसद्हरुलाई ओलीको निर्देशन

108

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन सांसद्हरुलाई निर्देशन दिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमालेको एजेन्डाका साथ निर्वाचन केन्द्रित भएर गाउँ गाउँमा जान निर्देशन दिएका हुन् ।

बैठकमा ओलीले स्थानीय तहको चुनावमा ६५ देखि ७० प्रतिशत सिटमा जित हासिल हुने दाबी गरेका थिए । एमाले देशभर एक्लै चुनावी प्रतिस्पर्धामा जाने र अत्यधिक स्थानमा जित निकाल्ने अध्यक्ष ओलीले बताएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

नेता जस्तो नभइ कार्यकर्ता जस्तो भएर र जनतासँग नङ मासुको सम्बन्ध जस्तै बनाएर जनतामाझ जान ओलीले निर्देशन दिएको उनले बताए । त्यस्तै संसद्को अधिवेशनमा सत्तारुढ गठबन्धनले आफ्नो उद्देश्यमात्र पुरा गरेको र जनताको समस्याका बारेमा छलफल गर्न गठबन्धन र सभामुखले कुनै प्रयास नगरेको निष्कर्ष निकालेको भट्टराईले जानकारी दिए ।

उनले संसद अधिवेशन अन्त्य गरेर प्रधानन्यायाधीशमाथिको महाभियोग पास गर्ने नियतले नल्याएको पुष्टि भएको उनले बताए ।

बैठकमा अध्यक्ष ओलीले सरकारको गलत कामको भण्डाफोर गर्न पनि निर्देशन दिएको भट्टराईले बताए । त्यस्तै, उनले स्थानीय तहको निर्वाचनमा राम्रो काम गरेकालाई प्राथमिकता दिने समेत बताएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...