पार्टीभित्र अराजकता, गुटबन्दी र पदलोलुपता बढ्दै गयो : प्रचण्ड

164

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीभित्र अराजकता, गुटबन्दी हाबी भएको बताएका छन् ।

बुधबार काठमाडौँमा माओवादी उपत्यका विशेष प्रदेश समितिको आयोजनामा वैचारिक राजनीतिक प्रशिक्षणका क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दै गएको र अराजकता, गुटबन्दीका साथै पदलोलुपता बढ्दै गएको बताए ।

युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुने गरेको स्मरण गर्दै प्रचण्डले
अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात बढेको धारणा राखे ।

त्यस्तै, उनले नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिलाई सच्चाउन जरुरी रहेको उल्लेख गरे । संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको भनाइ थियो ।

उनले अहिले जतिनै क्रान्तिको कुरा गरिरहेपनि पार्टी विस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढिराखेकाले समस्या पैदा भएको बताए । त्यस्तै, उनले केही दल सेटिङ गरेर चुनाव जित्न सिपालु रहेको भन्दै उनले आगामी चुनाव पार्टीका लागि जीवन मरणको सवाल भएको धारणा राखे ।

Share This:
सम्बन्धित खबर
Loading...