प्राध्यापकहरूलाई शिक्षामन्त्रीले भने– विश्वविद्यालयमा हड्ताल गर्ने काम बन्द गर्नुस्

203

काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हड्ताल गर्ने काम बन्द गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।

बुधबार बिहान नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताए ।
‘लोकतान्त्रिक मर्यादा अनुरूप माग प्रस्तुत पाइन्छ,’ उनले भने, ‘लामो समयसम्म पढाई अवरूद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्‍यो । प्राध्यापक संघले होमवर्क गरी समस्या बुझेर समाधानको निकाश निकाल्ने गरी पहल गर्नुहोस् ।’

उनले सबै विश्वविद्यालयका सेवा आयोगहरू एकै प्रकृतिको भएकाले एकरूपता कायम गरिने बताए । प्राध्यापकका सेवा सुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको मन्त्री पौडेलले बताए ।

विश्वविद्यालयहरु समस्या परे मात्र मन्त्रालयमा आउने गरेको भन्दै नियमन संयन्त्र र स्वायत्तको स्पष्ट खाका तयार गर्नुपर्ने बताए । ‘विश्वविद्यालयहरूले समस्या परेको बेला मन्त्रालयमा आउने तर अरू जिम्मेवारी, अनुशासन र नियमन सुधारका अवस्थामा स्वायत्त भएको भन्ने गरिएको छ,’ उनले भने, ‘नियमन संयन्त्र र स्वायत्तताको स्पष्ट खाका तयार गर्नुपर्ने भएको छ ।’ त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयको रुपमा विकास गर्ने तयारी रहेको उनले जानकारी दिए ।

‘राष्ट्रिय प्रकृतिका विश्वविद्यालयहरू विषयगत विशिष्टिकरणका आधारमा केन्द्रीय विश्वविद्यालयको मातहतमा रहनेगरी तयारी गरेका छौँ’ मन्त्री पौडेलले भने, ‘उच्च शिक्षालाई नियमन गर्ने गरी ऐनमाथि छलफल भइरहेको छ ।’

छलफलमा नेपाल प्राध्यापक संघको तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादा क्रमः २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा निस्किसकेकाले कार्यान्वयका लागि पहल गरिदिन आग्रह गरे ।

प्राध्यापकहरुको तलबमान– सार्कस्तरीय बनाउने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवृत्तभरण उपलब्ध गराउने, स्वास्थ्य सुविधाः शिक्षक अस्पताल जस्तै प्राध्यापक र विश्वविद्यालयका शिक्षक कर्मचारीहरूलाई समेत निजामति अस्पताल भन्दा बेग्लै किसिमको स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्नेलगायतका माग राखेका थिए ।

लामोसमयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थीसंगठनहरुले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दै आइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...