गठबन्धनको निर्णय पार्टी केन्द्रीय समितिले लिन्छ : महामन्त्री शर्मा

260

खाँदबारी । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा टुंगो चैत तेस्रो साता बस्ने केन्द्रीय समितिको बैठकले लगाउने उनले बताए ।

नेपाल प्रेस युनियनले सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीको केन्द्रीय समितिको सुझावअनुसार नै गठबन्धनबारे निर्क्यौल गरिने बताए । उनले भने,“स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुन्छ ।”

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिएको उनको भनाइ थियो ।

कांग्रेसले पार्टी नयाँ ढंगको बनाउन र जनतासँग सम्बन्ध स्थापित गर्न अभियान सञ्चालन गरिरहेको महामन्त्री शर्माले बताए ।

चुनावमा विचारको मुद्दा र विकासबारे बहस गर्नु जनताका लागि हितकार हुने उनले बताए । कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशत बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सफल भएको शर्माले बताए । आगामी चुनावमा कांग्रेसले बहुमत प्राप्त गर्ने पनि उनको भनाइ थियो ।

“एमसीसीको पक्षमा मौन बस्ने र विरोध जनाउनेलाई मत दिने कि एमसीसी परियोजनामार्फत् आममानिसको समृद्धि हुन्छ भन्नेलाई मत दिने भन्ने आम मतदाताले छुट्टाउने छन् । कांग्रेस आफैँले सरकारमा रहेर चुनाव गराउँदा २०१५, ४८ र ५६ सालमा बहुमत ल्याएको थियो । २०६४ र ७० सालमा दोस्रो पार्टी हुन पुगे पनि जनताको पक्षमा राम्रो काम गर्ने पार्टी कांग्रेस नै रहेछ भन्ने जनताले बुझिसकेका छन् । आउँदो चुनावमा कांग्रेसले बहुमत प्राप्त गर्नेमा कुनै शंका नै छैन,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...