कीर्तिपुरमा ३२ घर परिवारलाई लालपुर्जा वितरण

256

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले काठमाडौँको कीर्तिपुरको गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छन् ।

कीर्तिपुर नगरपालिका–५ पागामा गाँउब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै मन्त्री श्रेष्ठले यहि चैत १५ भित्र थप पाँच जिल्लामा रहेको गाउँब्लकमा लालपूर्जा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिइन् ।

उनले आगामी आर्थिक वर्षभित्र देशभरका सबै गाउँब्लकमा लालपुर्जा वितरण गर्ने गरी कार्यक्रम र बजेट व्यवस्था गर्न लागिएको पनि बताइन् ।

मन्त्री श्रेष्ठले लेखेर र भाषण गरेर मात्रै नागरिकले अधिकार प्राप्त गर्न नसक्ने भन्दै इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई आग्रह गरिन् ।

राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाइ गर्न पनि स्थानीय तहका पदाधिकारीलाई उनले सुझाव दिइन् ।

मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था अनुसार भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत् काम अगाडि बढाइएको र जिल्ला आयोग गठनको काम भइरहेको पनि बताइन् ।

विशेष गरी काडमाडौँ उपत्यका र देशका विभिन्न भागमा समेत रहेका स्वबासी र बेनिसाको समस्या समाधान गर्न पनि आफूले प्रक्रिया सुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरुवा चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि सहिद, वेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडि बढाइसकेको जानकारी पनि दिइन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकका करिब १५ हजार घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र जग्गा भएर पनि लालपुर्जाविहीन बनिरहेकाहरुलाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरी, सप्तरी, धनुषा, सुनसरी र चितवन जिल्लाका विभिन्न गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई लालपुर्जा वितरण गरिसकेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...