धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाका बनाउन अपिल गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा सम्बोधन गर्दै प्रचण्डले सदियौँदेखि नै काठमाडौँले सुदूरपश्चिमलाई हेपेको बताए ।
“एकदिन दुईदिन होइन, इतिहासदेखि नै सुदूरपश्चिमलाई राज्यले, काठमाडौँले जसरी विभेद र अपमानका साथ हेर्यो,” उनले भने,“अब त्यसलाई उल्ट्याउनु छ । हामीले एक हदसम्म संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमार्फत् समानुपातिक समावेशी प्रतिनिधित्व स्थापित गरेर सुदूरपश्चिमलाई प्रदेशको मान्यता दियौँ । तर, अझै पनि त्यो पूर्ण भएको छैन ।”
उनले देश समाजवादको यात्रामा अघि नबढेसम्म विभेद र अपमान अन्त्य नहुने पनि बताए । “समाजवादको यात्रामा अगाडि नबढेसम्म सयौँ वर्षदेखि कायम विभेद र अपमानको अन्त्य हुँदैन । सुदूरपश्चिमले नेपालमा समुचित अधिकारसहितको सम्मान प्राप्त हुने प्रक्रिया पूरा हुने छैन ।”
अध्यक्ष प्रचण्डले समाजवादको आधार निर्माण गर्ने, आधार इलाकाको रुपमा यो प्रदेशलाई विकसित गर्ने र काठमाडौँलाई सन्देश दिने जिम्मेवारी आफूहरुको काँधमा आएको बताए ।
“हिजो जनवादी क्रान्तिमा सुदूरपश्चिमले त्यो विशिष्ट भूमिका नखेलेको भए नेपालमा संघीय गणतन्त्रको स्थापना हुने थिएन । त्यसैले त्यो बेलाजस्तो अहिले फेरि समाजवादी आन्दोलन र क्रान्तिका लागि संकल्प गर्नुपर्ने अवस्था आएको छ,” उनले भने ।
उनले अब नयाँ विचार, पार्टी र समाजवादको नयाँ मोडेल निर्माण गर्ने विषयमा फेरि सुदूरपश्चिमले वीरता, क्षमता र संघर्षका नयाँ कीर्तिमान कायम गर्नुपर्ने बताए ।