राजेन्द्र पाण्डेलाई अष्टलक्ष्मी शाक्यको कटाक्ष : पैसाले पार्टी बनाउने कुरा होइन के मुख्यमन्त्रीज्यू

221

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बागमती सरकारको काममो आलोचना गरेकी छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा उनले सरकारसँग रकम भयो भन्दैमा जे पनि गर्न मिल्छ भने प्रश्न गरेकी हुन् ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ पार्टीमा कार्यकर्ता बढाउन सरकारबाट गलत काम गराइरहेको उनको आरोप थियो ।

“साथीहरुले नयाँ पार्टी गठन गरेका छन् । त्यो पार्टीलाई बलियो बनाउनै पर्‍यो । धेरै चिन्ता होला मुख्यमन्त्रीज्यूलाई पनि,” उनले भनिन्,“चिन्ता धेरै नगर्नुस् । पार्टी त जनताले बनाउने कुरा हो नि । पैसाले बनाउने कुरा होइन के मुख्यमन्त्रीज्यू । तपाईं आफैँ सक्रिय हुनुहुन्छ । धेरै चिन्ता गरेर पैसा बाँढेर कार्यकर्तालाई खुसी गर्ने काम नगर्नुहोला ।”

पूर्वमुख्यमन्त्रीसमेत रहेकी शाक्यले सदनबाट बहुमतले पास गरेको बजेट रकमान्तर गरी संविधान र कानुनभन्दा बाहिर गएर सरकारले काम गरेको आरोप लगाइन् । उनले सरकार संविधानअनुसार नभएर स्वेच्छाचारी ढंगबाट अगाडि बढिरहेको बताइन् ।

“हामीले संविधानअनुसार काम गर्नुपर्ने हुन्छ । प्रदेशको अर्थप्रणालीको व्यवस्था संविधानमै उल्लेख छ । कानुनले १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइँदैन भनेको छ । सरकारले संविधानबाहिर रहेर काम गर्न मिल्छ ? किन यति धेरै बजेट रकमान्तर गरेको ? सरकारमा संविधान विरोधी र स्वेच्छाचारी प्रवृत्ति देखियो,” उनले भनिन् ।

उनले सरकार जबाफदेही र पारदर्शी नभएको आरोपसमेत लगाइन् । सुरुङमार्ग र विद्युतीय बस सञ्चालनको विषयमा प्रतिपक्षीसँग सहमति नगरी बजेट नकटाउन उनले आग्रह गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...