देउवालाई रावलको जबाफ : झुटो बोल्ने प्रधानमन्त्रीको ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ !

229

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको नेकपा (एमाले)का नेता डा.भीम रावलले जबाफ दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसद्‌मा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले ‘उसबेला दिमाग खुस्क्याथ्यो ?’ भन्दै प्रश्न गरेका थिए ।

सोमबार नुवाकोटमा देउवाले दिएको उक्त अभिव्यक्तिको जबाफ दिँदै रावलले भनेका छन्,“तथ्यको जानकारीसम्म नराखि झुठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या त जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।”

रावले आफू ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानसहित रक्षामन्त्री रहेको बताउँदै एमसीसी सम्झौता संसद्मा ल्याएको बेला नभएको स्पष्ट पारेका छन् । उक्त तथ्य जानकारी नराखी आरोप लगाएको भन्दै ‘दिमाग खुस्केर होस हराएको’ टिप्पणी गरेका हुन् ।

उनले थप बहस गर्ने इच्छा भए आफू तयार रहेको बताएका छन् । पदीय मर्यादाका लागि तुच्छ शब्द प्रयोग नगर्न समेत रावलले सुझाएका छन् ।

उनले देउवाले भनेको ‘किन रावललाई मात्र टाउको दुख्छ’को समेत जबाफ दिएका छन् । “प्रधानमन्त्री देउवाले ‘किन रावललाई मात्र टाउको दुख्छ’ भन्ने प्रश्न गर्नुभएको रहेछ । उत्तर हेर्नुहोस्– नेपालको संविधान, देश र जनतासामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहित स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर बाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईंको जस्तो चरित्र नभएकाले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो,” उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...