स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ति छैन : प्रधानमन्त्री देउवा

289

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ति नरहेको बताए ।

आइतबार काठमाडौँमा नेपाल नगरपालिका संघको २९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहभन्दा आपत्ति भए स्थानीय सरकार बनाउन सकिने तर यसका लागि दलीय सहमति भने जुट्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको भन्दै शब्दमा आपत्ति जनाउन नहुने धारणा राखे । त्यस्तै, उनले मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर जनप्रतिनिधिहरुले सेवा प्रवाहमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

स्थानीय तहको विकास निर्माणका साथै नीति निर्माण र कार्यान्वयनमा जनतालाई प्रत्यक्ष सहभागी गराउनुपर्नेमा उाले जोड दिए । प्रधानमन्त्री देउवाले देशभरका नगरलाई व्यवस्थित, विकसित र स्वच्छ बनाउन नगरपालिकाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले विभिन्न विधामा उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेका थिए । नगरपालिका संघले गरेको मूल्यांकनबाट संस्थागत विकासतर्फ उत्कृष्ट काम गरेकोमा स्याङ्जाको वालिङ नगरपालीका र पुतलीबजार नगरपालीका पुरस्कृत भएका छन् ।

त्यस्तै सहरी योजना तथा विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत धादिङको निलकण्ठ नगरपालिका पुरस्कृत भएको छ । वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा इलाम नगरपालिका पुरस्कृत भएको छ ।

स्थानीय स्रोत परिचालन गरेर स्थानीय आर्थिक विकास गर्नेमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट भएको भने सामाजिक विकासको विधानमा रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...