भट्टराईले भने– कांग्रेस र जसपा दुवै लोकतान्त्रिक पार्टी, कम्युनिस्ट एउटै पेन्सिलका फरक फरक टुक्रा [पूर्णपाठ]

315

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सत्ता साझेदार नेपाली कांग्रेसदेखि विवेकशील साझासम्मका दलका कमिकमजोरी औँल्याएका छन् ।

शनिबार सुरु भएको जसपाको संघीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा.भट्टराईले सबै दलका विषयमा जसपाको दृष्टिकोण कस्तो हुनुपर्ने भन्दै चिरफार गरेका हुन् । भट्टराईले प्रस्तुत गरेको ३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई ‘उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल’ भनेका छन् ।

उनले कांग्रेस र जसपाबीच केही समानता रहेको औँल्याएका छन् । “नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बीचको समानता–यी दुवै मूलतः लोकतान्त्रिक धारका दल हुन्,” भट्टराईले राजनीतिक प्रतिवेदनमा भनेका छन्,“तर, कांग्रेस ‘उदार लोकतन्त्र’मा विश्वास गर्ने दल हो भने जसपा ‘समावेशी लोकतन्त्र’मा विश्वास गर्ने दल हो ।”

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा मसाल, राष्ट्रिय जनमोर्चा लगायत नेकपाका अन्य घटकहरु सबै एउटै भएको भट्टराईको निष्कर्ष छ । “यी सबै समूहको विचार उत्पतिको आधार एउटै हो,” उनले भनेका छन्,“हाम्रो पार्टीको दृष्टिकोणमा नेकपाका घटकहरु आधारभूत रुपमा उस्तै हुन् । एउटै पेन्सिलका फरकफरक टुक्रा मात्रै हुन् ।”

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल रुढिवादी धारको प्रतिनिधित्व गर्ने दल भएको निष्कर्ष निकालेका छन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई विचार, सिद्धान्त र एजेन्डामा प्रष्टता नभएको दल भनेका छन् ।

विवेकशील साझा पार्टीलगायत अन्य दललाई विचार र शक्ति दुवै दृष्टिकोणले अस्तित्व संकटको अवस्थामा पुगेको औँल्याएका छन् । यी दलभित्र रहेका केही व्यक्ति पश्चगामी र केही प्रगतिशील विचार बोकेको रहेको उल्लेख गर्दै संवाद र सहकार्य गर्न सकिने बताएका छन् ।

यस्तै, संघीय परिषद् अध्यक्ष भट्टराईले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीमा अगाडि बढ्नुपर्ने बताएका छन् । “पार्टी संगठनभित्रको कार्यप्रणाली सामूहिक नेतृत्प र व्यक्तिगत जिम्मेवारीमा आधारित हुने छ । पार्टीका महत्वपूर्ण निर्णयहरु व्यक्तिले हैन, बैठकले गर्नु पर्दछ । पार्टी संठानको व्यवस्थित अभिलेख प्रणाली हुनुपर्दछ,” उनले लेखेका छन् ।

पार्टीमा अभिलेख राखिएका निर्णय मात्रै आधिकारिक निर्णय हुने भट्टराईको भनाइ छ । पार्टीमा जिम्मेवार लिने तर पूरा नगर्ने प्रवृचि सैह्य नहुने प्रतिवेदनमा उल्लेख छ ।

राजनीतिक प्रतिवेदनको पूर्णपाठ

राजनीतिक प्रतिवेदन
Share This:
सम्बन्धित खबर
Loading...