संविधानको रक्षा गरी देशलाई समृद्धितर्फ लैजान गठबन्धन सरकार बनेको हो : अर्थमन्त्री

248

रोल्पा । अर्थमन्त्री जनार्दन शर्मा‘प्रभाकर’ले संविधाको रक्षा गरी देशलाई समृद्धिको बाटोमा लैजान गठबन्धन सरकार निर्माण भएको बताएका छन् । उनले यो लक्ष्य पुरा नहुन्जेलसम्म वर्तमान गठबन्धन पनि कायम रहने दाबी गरे ।

रोल्पाको लिबाङमा रोल्पा उद्योग बाणिज्य संघको १८औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकारले लिएको आर्थिक नीति कार्यान्वयन गरी जनतामा समृद्धिको अभाष दिलाउने प्रतिबद्धता जनाए । “संविधाको रक्षा र कार्यान्वयन गर्न तथा जनतालाई समृद्धिको बाटोमा लैजान गठबन्धन सरकार बनेको हो । यो जनताको शक्तीले बनेको सरकार हो” उनले भने । लोकतन्त्रको रक्षा गर्ने सवालमा परिवर्तनका पक्षधरबीच सहकार्य गर्ने वातावरण तयार भइ अहिले गठबन्धन सरकार बनाएर अघि बढिरहेको उनले बताए ।

उनले संसद नचल्दा जनतामा आधारित विकास निर्माणको काम अघि बढाउने गरी ऐन, नियम संशोधन गर्न नसकेकोमा दुःखेसा व्यक्त गरे । मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउने प्रमख जिम्मेवारीको भारी बोकाएर पार्टी अध्यक्ष प्रचण्डले अर्थमन्त्रीका रुपमा आफूलाई सरकारमा पठाएको उनले जानकारी दिए । अर्थमन्त्री रुपमा काम गर्दैगर्दा जनयुद्धको आधार इलाका क्षेत्रका जनताका माग र गुनासोलाई सम्बोधन गर्न पार्टी अध्यक्ष प्रचण्डबाट निर्देशन पाएको उनले बताए ।

‘मलाई अर्थमन्त्रीको जिम्मेवारी दिदै गर्दा अध्यक्ष प्रचण्डले दिएको जिम्मेवारी के छ भने जनयुद्धका आधार क्षेत्रका जनताहरुको भावना, मर्म अनुसारको काम अझै पुगेको छैन, त्यसकारण तपाईले यो काम पूरा गर्नुपर्छ भनेर मलाई जिम्मेवारी दिनुभएको हो’ अर्थमन्त्री शर्माले भने, ‘आधार इलाकाको जनताहरुको भावनालाई समेट्नुपर्‍यो,अझै पुगेको छैन भनेर अध्यक्ष प्रचण्डले मलाई निर्देशन दिनुभएको छ । यो निर्देशन बमोजिम जिम्मेवारी पूरा गर्न म प्रतिबद्ध छु ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आर्थिक नीतिहरुमा हेरफेर गरेर भएपनि मुलुकलाई समृद्धिको बाटोमा लैजाने जिम्मेवारी दिएको उनले बताए । ‘प्रधानमन्त्रीले पनि नेपालको विकास र संमृद्धिका लागि नयाँ बाटो तय गर्नुपर्छ भनेर मलाई जिम्मेवारी दिनुभएको छ । हामीले जनताका बीचमा गरेको बाचा पूरा गर्नेछौँ’ उनले भने ।

उनले रोल्पाली जनतालाई आफ्नो शक्ति पहिचान गर्न पनि आग्रह गरे । ‘आजको उपलब्धिको सबैभन्दा ठुलो श्रेय रोल्पाली जनतालाई जान्छ किनभने यो जनयुद्धको आधार क्षेत्रको रुपमा विकसित छ’ उनले भने, ‘रोल्पाली जनताकै शक्तिका आधारमा राजतन्त्र त फालियो भने अरु धेरै विकासका काम गर्न सकिन्छ । त्यसैले तपाईंहरु (रोल्पाली)ले आफ्नो शक्तिको पहिचान गर्नुस् ।’

जनताको शक्तिलाई बुझ्यौँ भने रोल्पाको विकास, समृद्धि, व्यवसाय, राजनीति सबै कुरामा रोल्पा सक्षम हुने उनको भनाइ थियो । ‘रोल्पा, रुकुमले जन्माएका एजेन्डा आज राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् । उपलब्धि हासिल भएका छन् । आजको दिनमा गरिबी न्यूनीकरण गरी समाजवादतर्फ जानका लागि जुन मार्ग बनेको छ, यसको आधारशीला रोल्पा, रुकुम नै हो’ उनले भने ।

हालसम्म प्राप्त उपलब्धीलाई अस्वीकार गर्ने राजनीतिक दल अबका दिनमा नरहेको उनले सो अवसरमा जानकारी दिए । ‘हामीले हासिल गरेको उपलब्धिलाई अस्वीकार गर्ने राजनीतिक पार्टी अब कोही छैन देशमा । हिजो अस्तिसम्म अलिकति थिए होलान् तर आजको दिनमा सबैले स्वीकार गरेका छन्’ उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...