देशलाई संकटबाट मुक्त बनाउन ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प : कमल थापा

227

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हासिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन् ।

रिपार्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले अहिले पार्टीको संगठन निर्माणको काम युद्धस्तरमा भइरहेको बताए । “हामी अहिले युद्धस्तरमा संगठन निर्माणको तयारीमा छौँ । स्थानीय तहको निर्वाचनमा हामी सहभागी छौँ । हाम्रो प्राथमिकता संसदीय निर्वाचनमा छ । आगामी निर्वाचनमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने तयारी गरेका छौँ,” उनले भने ।

पूर्वउपप्रधानमन्त्री थापाले अहिले नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्युहमा फसेको बताउँदै ताजा जनादेशमा जानुपर्ने बताए । उनले भने,“विगत ७ महिनादेखि संसद् अबरुद्ध छ । न्यायपालिकाभित्रको अराजकता अझै समाधान भएको छैन । अब देशलाई संकटबाट मुक्त तुल्याउनका लागि ताजा जनादेश र संसद्को निर्वाचनमा चाँडो नै जानुपर्छ । यो नै उपयुक्त विकल्प हो । जनताले ताजा जनादेशको माध्यमबाट नयाँ शक्ति, नयाँ विचार र नयाँ बाटोलाई रोज्नेछन् ।”

अध्यक्ष थापाले वर्तमान सरकारको फितलो र अदुरदर्शी नीतिले गर्दा नेपालको छिमेकी राष्ट्रसँगको सम्बन्धमा सौहार्दपूर्ण हुन नसकेको टिप्पणी गरे । उनले अहिलेको नेपालको अर्थतन्त्र दिनदिनै कमजोर हुँदै गएको पनि गुनासो पोखे । नेपालको सम्पूर्ण अर्थतन्त्र र आर्थिक गतिविधि केवल रेमिट्यान्समा मात्रै अडिएको उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...