जाली फटाहाहरुलाई हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौँ : ओली

272

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जाली फटाहाहरुको संज्ञा दिएका छन् । उनले उनीहरुलाई आगामी निर्वाचनबाटै ठेगान लगाउन सक्ने पनि जिकिर गरे ।

शुक्रबार प्रेस चौतारी नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने,“हामी निर्वाचनबाट ठेगान लगाउन सक्छौँ । महान् जनताको साथ हामीसँग छ ।”

ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ‘दशा लागेको’ टिप्पणी गरे । प्रचण्ड र नेपाल ‘जंगे’बाट ‘बुंगे’ बनेको उनको भनाइ थियो ।

“हामीसँग झन्डै दुई तिहाइको सरकार थियो । तर, प्रचण्ड र माधव नेपाललाई दशा लाग्यो । सरकार ढालेर गएर अहिले हेर्नुस् त बिचराहरु, ढोका बाहिर पर्खेर बसेका हुन्छन् । भित्रबाट प्रसाद बाँड्न आउँछ कि भनेर । कताका जंगेहरु, कताका बुंगे भए अहिले । बुद्धि बिग्रिएपछि त्यो हुन्छ,” ओलीले भने ।

अध्यक्ष ओलीले पत्रकारहरुलाई जनादेशको समर्थन गर्ने कि परमादेशको समर्थन गर्ने ? भन्ने प्रश्न उठाउँदै सर्वोच्च अदालतमा गोरु ब्याएको मात्र नभएर पाँचवटा बाच्छा पाएको टिप्पणी गरे ।

ओलीले भने,“तपाईं परमादेशको समर्थन गर्ने कि जनादेशको ? सबैलाई खुसी पार्न सकिँदैन । परमादेशका नाममा जनादेशको माखौल उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । एकजना न्यायाधीशले अमेरिकाबाट इमले लेख्छन्– केपी ओलीको सरकार नढाली भएको थिएन, त्यसैले संविधान बाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगार्देको थियो त्यो सरकारले ? खासमा त्यो इमेल वर्गीय दुराग्रह झल्काउँछ ।”

पूर्वप्रधानमन्त्री ओलीले संसद्ले सरकार बनाउने अधिकार समेत परमादेशबाट खोसिएको भन्दै मुलुक अहिले दुई धारमा बाँडिएको बताए । त्योमध्ये एकधारको नेतृत्व आफूहरुले गरेको र त्यो देशभक्तिको पक्षमा भएको उनको भनाइ छ । आफूहरु भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्ने, मिचिएको भूमि फिर्ता ल्याउने, सामुद्रिक मार्ग प्रयोग गर्न पाउने जस्ता विषयमा स्पष्ट रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...