एक्लै लड्दा हारेका थियौँ, मिलेर चुनाव लड्नुपर्छ : प्रधानमन्त्री देउवा

260

वीरगञ्ज । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा गठबन्धन दलसँग तालमेल गर्ने संकेत गरेका छन् ।

बिहीबार नेपाली कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रमाणपत्र वितरणपछि वीरगञ्जमा सम्बोधन गर्दै देउवाले निर्वाचनमा तालमेलको संकेत गरेका हुन् ।

आफू गठबन्धनकै कारण प्रधानमन्त्री बनेको उदाहरण पटक–पटक दोहोर्‍याउँदै उनले गठबन्धनका दलका नेताहरुलाई अनावश्यक रुपमा नचिढ्याउन समेत आग्रह गरे ।

“म प्रधानमन्त्री हुने नै थिइनँ यसपाली । गठबन्धनका साथीहरुले माओवादी केन्द्र, एकीकृत समाजवादी, मधेसका पार्टीहरु सबैले सहयोग गरेर म प्रधानमन्त्री भएको हुँ,” उनले भने,“अहिले परिस्थिति बदलिएको छ । डर त्रास हटेको छ । लेख्ने बोल्ने स्वतन्त्रता प्राप्त छ । हाम्रो पार्टीको उद्देश्य नै लोकतन्त्रलाई स्थायी गराउने हो ।”

आउँदो निर्वाचनका लागि कसरी जाने भन्नेबारे सबै पार्टीमा छलफल हुने उल्लेख गर्दै सबैको सहयोग लिन जरुरी हुने उनको भनाइ थियो ।

“गठबन्धनका साथीहरुको सहयोगमा म प्रधानमन्त्री भएको हुँद । गठबन्धनसित आउँदो चुनाव हुँदा हाम्रोभित्र छलफल हुन्छ । सबै पार्टीभित्र छलफल हुन्छ,” उनले भने,“हामीले सबैको सहयोग लिएर जानुपर्छ ।”

अघिल्लो निर्वाचनमा कांग्रेस नराम्ररी पराजित बनेको सुनाउँदै प्रधानमन्त्री देउवाले अब पहिलो पार्टी बनाउन नेताहरु लाग्नुपर्ने निर्देशनसमेत दिए ।

“तपाईंहरुलाई थाहा छ, एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? हारेका थियौँ । अहिले गठबन्धनको सरकार भएको कारणले स्थानीय, प्रदेश र केन्द्रमा पनि हामी पहिलो पार्टी बनाउन लाग्नुपर्छ,” उनले भने ।

देउवाले गठबन्धनलाई एकसाथ लैजानु प्रजातन्त्रका लागि, नेपालका लागि, आफ्नो पार्टी स्वयंका लागि पनि आवश्यक रहेको बताए ।

स्थानीय निर्वाचन नजिकिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसले जित्ने गरी भित्रि तयारी गर्नसमेत आग्रह गरे ।

Share This:
सम्बन्धित खबर
Loading...