पार्टीको अस्तित्व र १४ सांसद् जोगाउन एमसीसीमा समर्थन गर्‍यौँ : नेपाल

155

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूसहित १४ जना सांसद्को पद नै जाने भएपछि बाध्यताले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्नु परेको बताएका छन् ।

उनले केन्द्रीय कमिटीमा बुधबार पेस गरेको राजनीतिक प्रतिवेदनमा संसद्‌बाट व्याख्यात्मक घोषणासहित पारित नगेरको भए जस्ताको तस्तै पारित गर्ने तयारी थियो भन्ने उल्लेख गरेका छन् ।

फागुन १६ गतेसम्म एमसीसी पास गर्ने नाममा सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा (एमाले) मिल्न लागेपछि बाध्य भएर ११ बुँदे व्याख्यामार्फत् एमसीसीलाई समर्थन दिएको स्वीकारेका छन् ।

“यदि हामीले यसो नगरेको भए नेपाली कांग्रेस र एमाले मिलेर पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रो पार्टीका १४ जना सांसद्लाई कारबाही गर्ने गरी कांग्रेस र एमाले मिलेर एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्ने थिए,” उनले भने,“त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्रो पार्टीका १४ जना सांसद्लाई कारबाही गरिने र हाम्रा पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुनसक्थे ।”

उनले अघि भने,“दुई दलबीच सहमति भएको भए पार्टीको दर्ता खारेज गर्ने तथा प्रधानन्यायाधीशमाथिको महाअभियोग फिर्ता लिनुपर्ने गरी एमसीसी कम्प्याक्त जस्ताको त्यस्तै अनुमोदन गर्नेतर्फ अग्रसय भयो । यसप्रकारको परिस्थितिमा पाँच दलीय गठबन्धनमा संलग्न दलहरु वैकल्पिक निकासको खोजीमा लागे । त्यसै क्रममा एमसीसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो । त्यस धारणामा हामी पनि आधारभूत रुपमा सहमत भयौँ ।”

पार्टीले एमसीसी सम्झौताका ११ बुँदा आपत्तिजनक रहेको र त्यसलाई व्याख्यात्मक घोषणाले सम्बोधन गरेको नेपालको प्रतिवेदनमा उल्लेख छ । नेपालले एमसीसी सम्झौताको सुरुवाताी चरणमा संसद्‌बाट पारित गर्ने कुरा उल्लेख नभएको तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले संसद्बाट पारित गर्नुपर्ने व्यवस्था राखेको अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

नेपालले गठबन्धन भत्काउन र पुनः शक्तिमा फर्किने ओलीले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

“मुलुक यतिबेला राजनीतिकरुपमा मुलतः दुई धारमा विभाजित छ । एउटा व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृति बोकेको दक्षिणपन्थी अवसरवादी धार र अर्को संविधानको पूर्णकार्यान्वयन गर्दै त्यसले निर्देश गरे अनुरुप मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन पाहने वाम लोकतान्त्रि धार । अघिल्लो प्रवृतिको मूल बाहक केपी ओली हुन् भने वाम लोकतान्त्रिक धारका अगुवा पाँच दलीय गठनबन्धनमा रहेका राजनीतिक दलहरु हुन् । …. यस गठबन्धन र सहकार्यलाई कम्तिमा पनि आगामी स्थानीय तहको निर्वाचनसम्ममात्र होइन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता छ” अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...