माओवादी केन्द्रीय समिति बैठक आज, होला पदाधिकारी चयन ?

225

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । गत शुक्रबारदेखि सुरु बैठकका एजेन्डामा थप गृहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएपछि आज बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेन्डामा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

पुसमा सम्पन्न आठौँ महाधिवेशनले चयन गर्न बाँकी पार्टी पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन तथा केन्द्रीय समिति थप गर्ने विषयमा माओवादी केन्द्रभित्र छलफल चलिरहेको छ । तर, सहमति जुट्न नसक्दा महाधिवेशनपछिको पहिले बैठक नै पटक–पटक सर्दै आएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई आकांक्षी व्यवस्थापन गर्नै सकस भएको छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरुको जिम्मेवारी बाँटफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ । यी एजेन्डामा सहमति जुट्न नसकेपछि शनिबार र आइतबार बैठक बस्न सकेन । सहमति जुट्न नसकेको अवस्थामा अरु एजेन्डालाई थाँती राख्दै केन्द्रीय समितिलाई पूर्णता दिएर बैठक समापन गर्ने विषयमा समेत अध्यक्ष प्रचण्डले छलफल थालेका छन् ।

माओवादी केन्द्रको विधानमा ३०१ जना केन्द्रीय सदस्य बनाउने उल्लेख गरिएको छ । तर, अहिलेसम्म २४६ जना मात्रै बनाइएको छ ।

यसअघिको बैठकबाट अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत निर्वाचित गरिएको थियो । ११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशन भएको दुई महिना बितिसक्दासमेत स्थायी समिति, पोलिटब्युरो, नेताहरुको जिम्मेवारी बाँटफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै हुन सकेको छैन ।

अध्यक्ष प्रचण्डका लागि सबैभन्दा बढी जटिल विषय महासचिव कसलाई बनाउने भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुसँगको छलफल र सहमतिमै सबै विषय सर्वसम्मत टुंगो लगाउने प्रयास जारी रहेको बुझिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...