संसद् विघटन गरेर ‘अर्ली इलेक्सन’मा जाने गठबन्धनको तयारी

276

काठमाडौँ । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा भंग गरेर ‘अर्ली इलेक्सन’ गर्नेबारे छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसद्को जारी अवरोध खुलाउन सकरात्मक नभए भन्दै गठबन्धनमा आबद्ध ४ दलबीच त्यस किसिमको छलफल भएको हो ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुने क्रममा संसद् भवन बाहिर पत्रकारहरुसँग प्रतिक्रिया दिँदै एमालेका कारण यस्तो निष्कर्षमा पुगिएको बताए ।

उनले भने,“एमाले संसद् पनि चल्न नदिने, संसद्मा गञ्जागोल कायम राख्ने, पंगु बनाउने र हामीलाई पनि दुःख दिने काम गरिरहेको छ । यस्तो, अवस्थामा संसद् विघटन गरेर ‘अली निर्वाचन’मा जानु नै उत्तम हुन्छ ।”

उनले त्यसपछि न संसद् रहने, न ओलीको वितान्ड रहने बताए ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन बैठकमा प्रतिनिधिसभा निर्वाचन अघि सार्ने अभिव्यक्ति नेताहरुबाट आए पनि गम्भीर ढंगबाट छलफल नभएको बताए । “स्थानीय तहको निर्वाचनअघि प्रतिनिधिसभा निर्वाचन हुन्छ भन्ने लाग्दैन, यस विषयमा औपचारिक रुपमा एजेन्डा बनाएरै छलफल भएको छैन,” उनले भने ।

एमालेले गत भदौदेखि संसद् अवरोध गर्दै आएको छ । एमाले पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले मुख्य भूमिका खेलेको भन्दै सभामुखको बहिर्गमन या माधवकुमार नेपालसहित आफूले कारबाही गरेका १४ सांसद्को पदमुक्तिको सूचना टाँस गर्नुपर्ने माग गर्दै आइरहेको छ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले समेत संसद्को गतिरोध अन्त्य गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले आफ्ना माग पूरा नभएसम्म संसद्को अवरोध जारी गर्ने बताएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पूर्ण कार्यकालमा जोड दिँदै संविधानले निर्धारण गरेको प्रक्रिया बाहिरबाट गरिएको दुई पटकको विघटन निर्णयलाई बदर गरिदिएको थियो ।

सर्वोच्चले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा गरेको विघटना फागुन ११ मा र २०७८ जेठ २ मा गरेको विघटन असार २८ मा बदर गरेर प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...