ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा

343
  • थम्मन थापा

बागलुङ । नेपाल टेलिकमले पर्यटकीय गन्तव्य ढोरपाटनमा चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

विसं २०७५ वैशाखमा माइक्रो वेभ रेडियो लिङ्कमार्फत् टुजी र थ्रिजी सेवा विस्तार गरेको टेलिकमले शनिबारदेखि फोरजी सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवम् वरिष्ठ इञ्जिनियर केशव शर्माले जानकारी दिए ।

उनले ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्व बोकेको गन्तव्य भएकाले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट (मोबाइल डाटा) र गुणस्तरीय एचडी कल सुविधाको भिओ एलटिइसहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको बताए । शर्माले भने,“भौगोलिक विकटता र दुरदराजमा रहेका नागरिक अनि त्यहाँ पुग्ने पर्यटकलाई लक्षित गरि यो सेवा शुभारम्भ गरेका हौँ यसबाट स्थानीयबासी र त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु लाभान्वित हुनेछन् ।”

यसभन्दा पहिला उक्त टावरमा विद्युत नहुँदा सोलार सेटमार्फत् टावर सञ्चालनमा थियो जसका कारण हिमपात र राम्रो सँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्ब हुने समस्या थियो अब भनें विद्युत जडान भए सँगै उक्त समस्या हटेको छ । ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजना सँगको समन्वय, जनप्रतिनिधि, त्यहाँ रहेको नेपाली सेना र स्थानीयबासीको सहयोगमा नेपाने डाँडामा विद्युत सेवा पुयाईएको छ । विद्युत पुराउन टेलिकमले समेत बजेट व्यवस्थापन गरेको थियो ।

बागलुङ सदमुकामदेखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचनासहितको टावर निर्माण गरी आफ्नो सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ ।

फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका वडा नम्बर ९ का फल्लेघर, पाखाथर, छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत, नबिगाउँ, भण्डारी गाउँ सँगै ढोरपाटन उपत्यकाका झन्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु प्रत्यक्ष लाभान्वित भएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष चुनाबहादुर घर्ती मगरले जानकारी दिए ।

समुन्द्र सतह देखि ३ हजार २ सय मिटरको उचाइमा अवस्थित पर्यटकीयस्थल ढोरपाटन उपत्यकामा मोबाइल सेवा सञ्चालनको लागि ढोरपाटन नगरपालिका वडा नम्बर ८ को बोबाङमा रिपिटर स्टेसन राखी माइक्रोवेभ रेडियो लिङ्कमार्फत् सेवा सञ्चालन गरिएको छ ।

अब कपिलवस्तु सालझण्डी देखि ढोरपाटन सम्मको सडक अन्तर्गत बोबाङ देखि ढोरपाटन उपत्यका र ढोरपाटन शिकार आरक्षणसम्मका भू–भागमा मोबाइल सेवा पुगेको ढोरपाटन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए ।

यसअघि टेलिकमले उक्त स्थानमा विसं २०६३ देखि पुरानो भिस्याट प्रविधि प्रयोग गरि तार लाइन टेलिफोन, क्रमशः सिडिएमए सेवा र जिएसएम टुजी सेवा सञ्चालन गरेको थियो । भिस्याट प्रविधिमा भ्वाइसमा सीमित क्षमता र डाटा चलाउन नमिल्ने भएकाले ढोरपाटनबासी र त्यहाँ पुग्ने पर्यटकहरुले सञ्चार सेवा सहजै उपभोग गर्न पाएका थिएनन् ।

भौगोलिक विकटता विविध कठिनाइका बाबजुत ग्रामिण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले ढोरपाटन उपत्यकामा जिएसएम मोबाइल सेवालाई स्तरोन्नति र विद्युतीकरण गर्न एक वर्षदेखि गृहकार्य गरिरहेको थियो ।

फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।

ढोरपाटन उपत्यका पर्यटकीय र शिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपूर्ण ठाउँ हो । त्यहाँ पुग्ने पर्यटक र उपत्यकाबासीले यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निम्ति मोबाइल सेवा सञ्चालन भएसँगै सहज भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...