शंकर पोखरेलले भने– एमसीसीको ‘व्याख्यात्मक घोषणा’ जनतामाथि भ्रम छर्ने काम

102

धनगढी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताए ।

“व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ । जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन । कार्यकर्ताहरुलाई भ्रमित सिर्जना गरिएको छ,” उनले भने,“हाम्रो संविधान र कानुनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन ।”

कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको समेत उनले स्पष्ट पारे । उनले सभामुख अग्निप्रसाद सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोपसमेत लगाए ।

“सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ,” उनले भने,“टेबल गर्नु परे आत्महत्या गर्छु भन्नुभएको थियो अहिले राजनीतिक पूर्वाग्रही भएको पुष्टि भएको छ ।”

एमालेसँग प्रधानमन्त्रीले पटक–पटक गरेको छलफल बारे पनि पोखरेलले प्रष्ट्याएका छन् । उनले भने,“सत्ता परिवर्तन गर्ने विषयमा छलफल थिएन । हामीले उनीहरुलाई सँगै राखेर यो प्रकरणमा जनतालाई देखाउनु थियो । उनीहरु सत्ता स्वार्थका लागि जे पनि गर्छन् भन्ने देखाउनु थियो त्यो जनताले देखिसकेका छन् ।”

परमादेशको सरकारलाई जनादेशबाट विस्थापित गर्ने समेत उनले दाबी गरे ।

महासचिव पोखरेलले नेकपा कालीन विषयलाई स्मरण गर्दै माधवकुमार नेपाल र पुष्पकमल दाहाल‘प्रचण्ड’ले उठाएका विषयसमेत गलत रहेको पुष्टि भएको बताए ।

अर्लि इलेक्सनलाई एमालेले स्वागत गर्ने भन्दै पोखरेलले स्थानीय चुनाव सार्ने सर्तमा भने आफूहरुलाई मान्य नहुने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...