काठमाडौँ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँगको बिहीबार बिहानको भेटवार्ता भएपछि नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आफूनिकट केन्द्रीय सदस्यसँग आन्तरिक छलफलमा जुटेका छन् ।
श्रेष्ठनिकट स्रोतका अनुसार बिहीबार बिहान आफ्नै निवास हात्तिवनमा नेता श्रेष्ठले आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गरिरहेका छन् ।
पार्टीको केन्द्रीय समिति बैठक बस्नु एक दिनअघि नेता श्रेष्ठले आफूनिकट नेताहरुसँग छलफलमा जुटेका हुन् । माओवादी केन्द्रीय समितिको बैठक शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदै छ ।
गत सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले घुमाउरो शैलीमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी छाडेर गए हुन्न भन्ने अभिव्यक्ति दिएपछि दुई नेताबीचको सम्बन्धमा केही चिसोपना आएको छ ।
प्रचण्डको अभिव्यक्तिसँग आफूनिकट नेताहरुसँग छलफल गरेका श्रेष्ठलाई मंगलबार प्रचण्डले उनकै निवास पुगेर भेटवार्ता गरेका थिए भने बिहीबार बिहान पनि अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच भेटवार्ता भएको छ ।