राजनीतिक दलको अपरिपक्व व्यवहारले अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन क्षति पुर्‍यायो : राजन भट्टराई

243

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् विदेश विभाग प्रमुख डा.राजन भट्टराईले एमसीसीको विषयमा नेपालका केही राजनीतिक दल र यसका नेताहरुले अपरिपक्व व्यवहार देखाएको भन्दै यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा लिएर जानका लागि क्षति गरेको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्नका लागि निकै समय लाग्ने स्पष्ट पारेका छन् ।

“एमसीसीबारे राजनीति धेरै गिजोलियो, एमसीसी पारित भएपछि हाम्रो पार्टीको धारण आइसकेको छ । अब यसमा धेरै व्याख्या गर्नुहुँदैन । हामी पनि सरकारमा हुँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई अबिछिन्न सरकारको निरन्तरताको जिम्मेवारी महसुस गरेर अघि बढाउने काम गरेका थियौँ । तर, त्यतिबेला पनि यसलाई गिजोल्ने काम भयो । वैदेशिक सम्बन्धको विषयमा यो तहको विवाद भएको नेपालमा यो पहिलोपटक हो । अरनिको राजमार्ग बनाउँदा पनि भएको थिएन,” उनले भने ।

नेता भट्टराईले सुरुमा एमसीसीको समर्थन गर्नेहरुले पछि यसलाई विरोध गरेको र विरोध गर्दागर्दै समर्थन गरेको भन्दै आश्चार्य प्रकट गरे । “यहाँ अपरिपक्व खालको क्षमता देखाउने काम भयो । यो मुलुकका लागि अन्तर्राष्ट्रिय सम्बन्ध दीर्घकालीन रुपमा लिएर जानका लागि ड्यामेज गरेको छ । यसको कन्ट्रोल गरेर रिपेयर गर्नका लागि निकै समय लाग्छ,” उनले भने,“कार्यान्वयनमा जाँदा चार वर्षअघिको लागत र अबको लागत एउटै हुन्छ ? थप व्ययभार लाग्छ । यो कसले व्यहोर्छ ? हिजो जतिबेला सुरु गर्छौँ भनेर सम्झौता गरेका थियौँ, त्यो ढिलो भयो नि । अन्तिममा यहि गर्नुथ्यो भने किन यति लामो समयसम्म विरोध भयो ? उनीहरुले नै अहिले यसको जिम्मेवारी लिनुपर्छ । अबको चुनौती भनेको कार्यान्वयनको कुरा हो । यसमा बढेको कष्ट कहाँबाट व्यहोर्ने ?”

उनले मुलुकलाई छिटोभन्दा छिटो निर्वाचनमा लैजानुपर्नेमा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...