स्थानीय निर्वाचनमा गठबन्धन सम्भव छैन : कांग्रेस प्रवक्ता महत

317

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुन नसक्ने बताएका छन् ।

आउने स्थानीय तहको निर्वाचनमा कुनैपनि दलहरुबीच चुनावी तालमेल हुने अवस्था आफूले नदेखेको उनले बताए ।

स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने उनको भनाइ छ । तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा भने गठबन्धनमा कुनै छलफल नभएको उनको भनाइ छ ।

“स्थानीय निकायको निर्वाचन अलि ठुलो संख्यामा हुने र हाम्रो पद्धति पनि । स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रीय नेतृत्वले नै सम्पूर्ण कुरा बाँटफाँट गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ । र, विधानतः पनि त्यो सम्भव हुँदैन,” उनले भने ।

प्रवक्ता महतले आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्तअनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुट्नुपर्ने अवस्था रहेको दोहोर्‍याए ।

“स्थानीय आवश्यकतालाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरु पनि हुन सक्दछ । कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि छ । तर, समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइसकेको अवस्था छैन,” उनले भने ।

महतले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई सहमतिमा लिएर संसद् सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए । उनले सभामुख अग्निप्रसाद सापकोटा र माधवकुमार नेपालसहितका १४ जना सांसद्को विषय अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसलाई छाडेर एमालेले संसद् सुचारु गराउन पुनर्विचार गर्नुपर्ने धारणसमेत राखे ।

Share This:
सम्बन्धित खबर
Loading...