माधव नेपालले भने– ट्रम्पले ओलीलाई ‘ट्रयाप’मा पारेर चीन विरोधी काममा संलग्न गर्न खोजेका थिए

264

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ट्रयाप’मा पारेर नेपाललाई चीन विरोधी क्रियाकलाप सञ्चालन गराउन खोजेको आरोप लगाएका छन् ।

समाजवादी पार्टीले राजधानीमा गरेको पत्रकार सम्मेलनमा एमसीसी सम्झौताबारे पार्टीको धारण सार्वजनिक गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अमेरिकामा राष्ट्रपति परिवर्तन भएसँगै आफूहरुले निरन्तर कुरा उठाएसँगै नेपाललाई इन्डोप्यासेफिक रणनीतिबाट हटाइएको उनले दाबी गरे । “डोनाल्ड ट्रम्पको पालामा केपी ओली ट्रयापमा परेका थिए । नेपाललाई चीन विरोधी क्रियाकलापमा संलग्न गराउने कुरामा केपी ओली फसेका थिए । त्यसपछि हामीहरुले कुरा उठायौँ । अमेरिकामा पनि राष्ट्रपति परिवर्तन भए । विभिन्न घटनाक्रमलाई विचार गरिसकेर एमसीसी आइपिएसको हिस्सा होइन भनेर अमेरिकाले प्रष्ट पार्यो । केही पनि होइन भनेर अहिले केपी ओली भनिरहेका छन् । त्यो शतप्रतिशत गलत हो,” उनले भने ।

यसैबीच अध्यक्ष नेपालले एमसीसी सम्झौतासँगै संसद्‌बाट पारित गरिएको व्याख्यात्मक घोषणाले कानुनी मान्यता पाउने बताए ।

उनले भने,“कसै–कसैले यो व्याख्यात्मक घोषणालाई केही पनि होइन भनेर प्रचार गर्न खोजेका छन् । त्यसलाई अन्तर्राष्ट्रिय सन्धिसम्बन्धी व्यवहारको ज्ञान नभएका अज्ञानीहरुको कुरा मात्रै हो । उनलाई यो पनि ज्ञान छैन कि नेपालमा २०७७ सालमा सन्धिसम्बन्धी नियमावली जारी भएको थियो । त्यो नियमावलीले एउटा फर्म्याट अगाडि सारेको थियो । त्यही फर्म्याटको आधारमा कुनै पनि सन्धिको साथमा त्यसलाई प्रस्तुत गर्यो भने त्योसँग जोडिन पुग्दछ भन्ने व्यवस्था गरेको थियो । त्यही व्यवस्था गरेको आधारमा व्याख्यात्मक घोषणा तयार भएको हो र प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बसाएर त्यसलाई स्वीकार गरेर नेपाल सरकारले स्वीकार गरेर, प्रतिबद्धता व्यक्त गरेर सिंगो संसद्ले प्रस्तुत गरेको छ ।”

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीमा देशभक्तिको भावना नभएको आरोप लगाएका छन् । उनले भने,“केपी ओलीमा देशभक्तिको भावना छँदै छैन । कम्युनिस्ट हुन लायक छैनन् । म चुनौतीका साथ भन्न चाहन्छु, यदि तर्कको मैदानमा, तर्क प्रस्तुत गर्ने ठाउँमा आउनुस् ।”

ओली नेतृत्वकै सरकारका कारण एमसीसीबारे भ्रम फैलिएको पनि नेपालको भनाइ थियो । एमसीसीबारे ओली सरकारका मन्त्रीहरुले भ्रम फैलाएको उनले बताए । “एमसीसीबारे जे भ्रम सिर्जना भयो, त्यसको दोषी भनेको केपी ओलीको सरकार हो । केपी ओली सरकारका मन्त्रीहरु हुन्,” उनले भने ।

एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाले जनतामा रहेको भ्रम पनि हटेको नेपालको दाबी छ । एमसीसीबारे व्याख्यात्मक घोषणा आएपछि नै पार्टी स्पष्ट भएर यसको पक्षमा उभिएको बताए ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जबाफ दिँदै अध्यक्ष नेपालले आफूहरु सभामुख अग्निप्रसाद सापकोटाको राजीनामाको पक्षमा नरहेको स्पष्ट पारे । सभामुखको पक्षमा एकीकृत समाजवादी दृढताका साथ उभिने उनको भनाइ छ । सभामुख सापकोटाले संसद्को गरिमा र सांसद्हरुको अधिकारको रक्षा गरेको भन्दै उनले सभामुखको राजीनामा गराउने कुरा नचिताउन चुनौती दिए ।

“हामी सभामुखको पक्षमा दृढताका साथ उभिन्छौँ । सभामुखले खुरुक्क राजीनामा दिने, घुँडा टेक्ने भन्ने हुँदैन । त्यो पनि केपी ओलीका सामु घुँडा टेक्ने भन्ने पनि हुन्छ ? त्यो नचिताए हुन्छ,” उनले भने,“हामी उहाँको पक्षमा दृढताका साथ उभिन्छौँ । जुन सभामुखले सभाको गरिमाको रक्षा गरिरहनुभएको छ । उसमाथि धारे हात लगाउने, आरोपित गर्ने, त्यस्तो दुष्चेष्टा गर्ने अपमानपूर्ण व्यवहार गर्ने विषयमा मान्न सकिँदैन ।”

Share This:
सम्बन्धित खबर
Loading...