काठमाडौँ । नेकपा (एमाले)ले एमसीसीको व्याख्यात्मक घोषणा जनतालाई भ्रमित पार्ने र केही नेताको लत्रिएको जुँगा ठाडो पार्ने बाहेक अरु केही नभएको टिप्पणी गरेको छ । एमालेले पत्रकार सम्मेलन गर्दै यस्तो टिप्पणी गरेको हो ।
“दुई सरकारबीचको सम्झौता एक पक्षीय रुपमा संशोधन गर्नु र त्यो लागु हुन्छ भन्नु जनतालाई झुक्याउनु हो । एमसीसी सम्झौता गठबन्धनकै नेताहरुले विवादित बनाए । सरकारले गर्नुपर्ने पत्रचारमा दलका नेताले हस्ताक्षर गरेर यसलाई दूषित बनाए,” एमालेले भनेको छ ।
एमसीसी अनुमोदन भएपछि आफ्नो धारण स्पष्ट पार्दै एमालेले आफूहरुलाई उक्त छलफलमा भाग लिन सत्ता गठबन्धनले नदिएको आरोपसमेत लगाएको छ ।
एमालेले एक विज्ञप्तिमार्फत् एमसीसी विकास परियोजना भएको तर सत्ता गठबन्धनका दलले नै भ्रामक प्रचार र विशाक्त बनाएको आरोप एमालेले लगाएको छ ।
“एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । यसका विरुद्ध थालिएको निहीत स्वार्थसहित कुप्रचारको कदम समाप्त भएको छ,” उपमहासचिव प्रदीप ज्ञवालीले भने,“सत्ता गठबन्धनका केही अज्ञानता र गैरजिम्मेवारीपन प्रकट भएको छ । केही नेताहरु दोधारे र छेपारे शैलीका कारण यो समस्या आएको थियो ।”
एमालेले सभामुखले संसद्मा बलमिच्याइँ गरेको आरोप लगाएको छ । “सभामुखको बलमिच्याइँलाई आपत्तिजनक छ । सभामुख दल विशेषको आज्ञा मानिरहनुभएको छ । कुनै दलले निष्कासित गरेको सांसद्लाई उहाँले दल विभाजन गर्न सहयोग गर्नुभएको छ । यसले उहाँ पदमा रहन उचित छैन,” एमालेले भनेको छ ।