एमसीसी सम्झौता अनुमोदन गर्नुमा एमालेको पनि स्वीकृति थियो : कांग्रेस प्रवक्ता महत

205

काठमाडौँ । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‌बाट पारित भएपछि यसमा देखिएका भ्रमहरु निवारण भएको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित भएपछि यसमा देखिएको भ्रम निवारण भएको बताएका हुन् ।

उनले एमसीसी सम्झौता अनुमोदनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को पनि स्वीकृति रहेको दाबी गरे । एमाले राजनीतिक कारणले मात्रै सहभागी नभएको उल्लेख गर्दै उनले भने,“सम्झौता अनुमोदनमा विपक्षी दलको पनि स्वीकृति थियो । उहाँहरु राजनीतिक कारणले मात्रै सहभागी हुनु भएन ।”

एमसीसी सम्झौताले नेपाली कांग्रेस परिपक्व निर्णय गर्छ र त्यसमा अडिन्छ भन्ने छाप नागरिकमा परेको प्रवक्ता महतले दाबी गरे । “केही भ्रम रहेको भए त्यसलाई चिर्न कांग्रेस लागिरहन्छ । बुझाइमा समस्या रहे हामी बुझाउँछौँ,” उनले भने ।

एमसीसीमा नेपालको संसद्ले गरेको घोषणालाई अमेरिकाले पनि स्वीकार गरेको भन्दै उनले भने,“हाम्रो बुझाइ र अमेरिकाको बुझाइमा समानता छ । आयोजना बढ्नेमा यस अनुमोदनले पुष्टि गरेको छ । विकासमा नयाँ अध्याय प्रारम्भ भएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...