संसद् भवन अगाडिको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

147

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सडकमा शंकास्पद रुपमा छाडिएको प्रेसर कुकर सेनाको टोलीले निष्क्रिय पारेको छ ।

सोमबार संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद प्रेसर कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि आवागमन निषेध गरेर नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो ।

तारले बेरेको अवस्थामा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएपछि बम भएको आशंकामा सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको थियो । उक्त शंकास्पद कुकरभित्र बम नभइ इँटा र प्लास्टिकको टुक्राहरु मात्र रहेको सेनाले जानकारी दिएको छ ।

उक्त शंकास्पद वस्तु फेला परेपछि त्यस क्षेत्रमा सवारी आवागनममा ट्राफिक प्रहरीले रोकेको थियो । उक्त वस्तु निष्क्रिय पारेसँग यातायातका साधन सञ्चालनमा आएको छ । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका ६ कम्युनिस्ट घटकले सोमबार नेपाल बन्दको आह्वान गरेका छन् । त्यही क्रममा मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सिसिटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...