शेरबहादुर तामाङको दाबी : माओवादी र एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिन्छन्

223

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता तथा सांसद् शेरबहादुर तामाङले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसी सम्झौता पास गर्ने पक्षमा उभिने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने,“उहाँहरु एमसीसी पारित गर्ने पक्षमा उभिनुहुन्छ । अहिले सरकारसँग एमसीसी पास गर्नका लागि बहुमत छ । एमाले उभिनुपर्ने या नपर्ने जरुरी छैन । संसद् अवरोधको अवस्था नखुलाएसम्म हामी छलफलमा भाग लिँदैनौँ । हामी पक्षमा भोट हाल्दैनौँ ।”

उनले एमसीसीबारे मिडिया, सामाजिक सञ्जाल र डबलीमा विरोध भएपनि यसको सही रुपमा छलफल संसद्मा हुनुपर्ने बताए । “यो प्रस्ताव प्रस्तावकले संसद्मा उठेका विषय प्रष्ट पार्नुपर्छ । सत्ता पक्षले हुन्छ भनेर नै हात उठाउनुपर्छ । सरकारको प्रस्ताव हुन्न भन्ने हो भने एकमिनेट पनि सरकारमा बस्न मिल्दैन । तर, साथीहरुले द्वैध चरित्र देखाएका छन् ।”

संसद्मा एमालेको गतिरोध कायमै रहको उनले बताए । “संसद्को गतिरोध हट्नका लागि उहाँहरुले हाम्रो माग पूरा गर्नुपर्छ । हामीले कारबाही गरेका १४ जना सांसद्हरुलाई कारबाहीको सूचना टाँस्नुपर्यो, या त सभामुखलाई कारबाही हुनुपर्छ । छिनोफानो हुन जरुरी छ,” उनले भने,“अहिले सत्तारुढ दलले सडकमा कार्यकर्ता उतार्ने काम पनि गरिरहेका छन् । उता सदनमा अर्कै कुरा गरेका छन् । यो विषय अन्त्य हुनुपर्छ । संसद् खुल्यो भने हामीले आफ्नो दृष्टिकोण राख्छौँ । संशोधनको कुरा राख्छौँ । यदि संसद् खुलेन भने एमाले संसद् अवरोधकै अवस्थामा रहन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...