काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धन भत्काउने सर्तमा एमाले प्रधानन्त्रीलाई शेरबहादुर देउवालाई साथ दिने प्रष्ट पारेका छन् ।
गठबन्धन भत्किए पनि एमाले सरकारमा भने सामेल नहुने तर सकेसम्म चाडो चुनाव हुनुपर्ने सर्त आफूहरुले प्रधानमन्त्रीसमक्ष राखेको नेम्वाङले बताए ।
एमाले सम्बद्ध प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए)को दोस्रो राष्ट्रिय सम्मेलनका उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गठबन्धन दुषित भएकाले त्यसले लोकतन्त्र र संविधानलाई बिगार्ने बताए । यस्तो गठबन्धन टिक्नु नहुने उनको जोड छ ।
“मुलुक र जनताका लागि दुषित गठबन्धन भत्काउनुपर्छ भन्नेमा एमाले एकदम प्रष्ट छ । तर, या भत्किएर हामी सरकारमा जाँदैनौँ । हामीले प्रधानमन्त्रीलाई प्रष्टसँग भनेका छौँ, हामी सरकारमा जाँदैनौँ,” उनले भने,“निर्वाचनसम्म सरकार चलाउनुस्, हाम्रो कुनै पनि सर्त छैन तर एउटा कुरा चाहिँ एकदिन पनि चुनाव ढिला गर्न पाउनुहुन्न । बरु दलहरुसँग कुरा गरेर अलि चाडो चुनाव गर्नुपर्छ भनेका छौँ ।”
उनले आफूहरुले प्रधानमन्त्री देउवालाई पनि निर्वाचनसम्म सरकार चलाउन भनेको बताए । “हाम्रो कुनै पनि सर्त छैन । तपाईंले एक दिन पनि ढिलो गर्न पाउनुहुन्न, निर्वाचन धकेल्न पनि पाउनुहुन्न । बरु दलहरुसँग कुरा गरेर अलि चाँडो गर्न सक्नुहुन्छ भने गर्नुस् । तर, यो गठबन्धन भत्किनुपर्छ,” उनले भने ।