एमसीसीबारे जसपाको ‘निर्णायक बैठक’

119

काठमाडौँ । एमसीसीका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको निर्णायक बैठक बस्दै छ ।

शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक शनिबार पनि बस्दै छ र एमसीसीका बारेमा बैठकले टुंगो लगाउने छ ।

जसपाका नेता इस्तियाक राईले शुक्रबारको बैठकमा अमेरिकासँग भएको एमसीसी सम्झौतापत्र अध्ययनका लागि वितरण गरिएको र त्यो सम्झौतापत्रका सन्दर्भमा आज नेताहरुले धारणा राख्ने बताए । नेताहरुको धारणापछि पार्टीले आवश्यक निर्णय गर्ने छ ।

शुक्रबार ललितपुरको इमाडोलमा रहेको इन्द्रेणी पार्टी प्यालेसमा बैठक बसेको हो । जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच एमसीसी, स्थानीय निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने समझदारी भएको थियो ।

तर, त्यस समझदारीविपरीत यादवले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको भट्टराई पक्षको भनाइ छ ।

जसपामा अध्यक्ष यादव एमसीसीको विपक्षमा देखिएका छन् भने संघीय परिषद् अध्यक्ष भट्टराई चाहिँ पक्षमा उभिएका छन् । पार्टीभित्र बढ्दो विवादका बीच जसपाले एमसीसीमा कस्तो निर्णय लिन्छ भन्नेमा चासोका साथ हेरिएको छ ।

जसपामा ३५ सदस्यीय कार्यकारिरणी समिति छ ।

Share This:
सम्बन्धित खबर
Loading...