ओलीलाई खनालको चुनौती– मेरो पालामा एमसीरीलाई पत्र लेखेको छैन, भए सार्वजनिक गर

333

काठमाडौँ । एमसीसी सम्झौताका बारेमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपलाई नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रतिवाद गरेका छन् ।

ओलीले पोखरामा शुक्रबार आयोजित कार्यक्रममा झलनाथ खनालमाथि एमसीसी सम्झौताका लागि अमेरिकालाई निवेदन पत्र लेखेको आरोप लगाएका थिए । “एमसीसीमा निवेदन हाल्ने झलनाथ खनाल हिँड्दा ताली पिट्छन्, म हिँड्दा ढुंगा हान्छन्,” ओलीको आरोप थियो ।

ओलीको यो आरोपलगत्तै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एकीकृत समाजवादीले एमसीसीविरुद्ध आयोजना गरेको खबरदारी कार्यक्रममार्फत् ओलीलाई चुनौतीसहितको जबाफ दिएका छन् । उनले एमसीसीका लागि आफूले कुनै पत्र नलेखेको दाबी गर्दै यदि लेखेको भए त्यस्तो पत्र सार्वजनिक गर्न चुनौती दिए ।

“म प्रधानमन्त्री भएको बेला त्यस्तो कुनै चिठ्ठी र अनुरोध गरेको छैन । एमसीसीका बारेमा कुनै कुरा गरेको छैन,” उनले भने,“हामीले त्यो बेला एक कदम पनि अघि बढाएका थिएनौँ, त्यतिबेला हाम्रो फोकस संविधान बनाउनकै लागि थियो ।”

उनले डा.बाबुराम भट्टराईको पालमा एमसीसीमा आबद्ध हुन चिठ्ठी लेखेर पठाइएको बताए । उनले भने,“मेरो पालामा भएको भए प्रमाण देखाउन चुनौती दिन्छु ।” खनालले एमसीसी अमेरिकाको सरकारी निगम हो भनेर अमेरिकाको कानुनले नै भनेको पनि प्रष्ट पारे ।

Share This:
सम्बन्धित खबर
Loading...