काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जहाँ नेपाली, त्यहाँ एमाले’को अवस्था आएको बताएका छन् ।
शुक्रबार पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा सभागृह पुगेका ओलीले यस्तो बताएका हुन् । “विश्वको जुनसुकै जहाँ नेपाली त्यहाँ जानुस् तपाईंले यही पाउनुहुन्छ,” उनले भने,“नेपालीहरुको मन–मुटुबाट एमाले चाहेका छन्, कम्युनिस्ट सरकार चाहेका छन्, वामपन्थी सरकार चाहेका छन् । हामीले यो नारा दिएका छौँ । र यो सत्य हो ।”
ओलीले आफूले सरकार छोडेपछि बनेको सरकारले विकासको कुरै नगरेको दाबी गरेका छन् । उनले भने,“हामीले सरकार छाडेपछि तपाईंहरुले विकासको कुरा सन्नुभो त ? कुरा केबल गठबन्धनको हुन्छ । गठबन्धन छुट्नु हँदैन भन्छन्, रहनैपर्छ भन्छन् । विकास, समृद्धि र सुशासनको त कुरै छैन ।”
नेता–कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै ओलीले एमाले खोला नभइ नदी भएको बताए । “एमाले सधैँ आउनुस् मिलेर जाउँ भन्छ,” उनले भने,“किन एमाले यसो भन्छ भन्दाखेरि देश बनाउनुलाई, आफू मोटाउनलाई होइन । एमाले खोला–खोल्सी होइन नदी हो । नदी कहीँ पनि एकैठाउँबाट पैदा हुँदैन । यो थोपा–थोपा, खोल्सा–खोल्सी, खोलाहरु मिलेर नदी बन्ने हो । एमाले यही नदी हो ।”
ओलीले एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटोमा हिँड्दा ढुंगा हानिएको टिप्पणी गरेका छन् ।
“तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि उनै छन्,” उनले भने,“सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन् । मान्छे देख्नै हुँदैन ढुंगा हान्न लगाउँछन् । ढुंगा पनि कसलाई हान्ने भन्दा एमसीसी नेपालमा ल्याउन पाउँ भनेर आफू प्रधानमन्त्री हुँदा चिठ्ठी लेखरे निवेदन हाल्ने झलनाथ खनाल बाटाबाट हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् ।”
ओलीले थपे,“त्यही बाबुराम भट्टराई एमसीसी अगाडि बढाउनुपर्छ भन्ने मान्छे हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले ढुंगा हानिँदैन । एमसीसी ठिक छ भनेर वार्ता गरेर कुरा टुंग्याउने कृष्णबहादुर महरालाई ढुंगा हानिँदैन । प्रचण्डका पालामा अगाडि बढ्यो । प्रचण्ड, शेरबहादुर देउवाको संयुक्त सरकारका बेला महराले टुंग्याउनुभयो । ज्ञानेन्द्र कार्की वासिङ्टन डिसीमा गएर सम्झौता गर्नुभयो । उहाँहरुको सरकारले गर्यो । ती सम्झौता गर्नेहरुलाई कसैले रोक्दैन । म बाटामा हिँड्छु ढुंगा हान्छन् ।”