कांग्रेस–एमालेले आज पनि छलफल गर्दै

119

काठमाडौँ । संसद अवरोध हटाइ एमसीसी सम्झौता प्रस्ताव अघि बढाउने विषयमा आज पनि सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच छलफल हुने भएको छ ।

एमसीसी सम्झौता प्रस्तावको सैद्धान्तिक छलफलका लागि बिहीबार बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको थियो । दिउँसो १ बजे बस्ने बैठक अगावै दुई दलबीच छलफल हुने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

बिहीबार भएको छलफल सकरात्मक रुपमा अघि बढेको बताइएको थियो । गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा एमालेको साथ खोजिरहेका छन् ।

एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आज पनि दुई पक्षीय छलफल हुने तय भएपनि समय र स्थान अहिले एकिन भइनसकेको बताए ।

प्रधानमन्त्री देउवाले बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवनमै एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेतासँग छलफल गरेका थिए । त्यसपछि पुनः राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

हिजोको छलफलमा भने एमाले अध्यक्ष ओलीले पार्टीले कारबाही गरेका १४ सांसद्लाई कारबाही वा सभामुख हटाउनुपर्ने अडान दोहोर्‍याएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...