काठमाडौँ । नेकपा (एमाले)का नेता योगेश भट्टराईले मुलुकको निकासका लागि सत्ता गठबन्धन भत्कन अनिवार्य भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठका लागि पुगेका उनले बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्याङ्क चेक मागिरहेको बताए ।
“सत्ता पक्ष र प्रतिपक्षको संवाद हुनु राम्रो कुरा हो,” उनले भने,“सत्ता पक्षले ब्ल्याङ्क चेक दिनुस् भन्नुभएको छ । हामी त्यसका लागि तयार छैनौँ ।” दुवै पक्षबीच गिभ एन्ड टेकको कुरा हुनुपर्ने एमालेको अडान रहेको उनले बताए ।
उनले अहिले देखिएको गठबन्धनको असफलताले मुलुकलाई अन्तर्राष्ट्रिय बेइज्जत गराएको बताए ।
“गुटभित्रको संकट ल्याएर पार्टीमा र पार्टीको संकट गठबन्धनमा ल्याएर पेस गर्दा भूराजनीतिक असफलतामा हामी फस्न लागेका छौँ,” उनले भने,“सत्ता गठबन्धनको यही विवादका कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरेको छ ।”
उनले एमालेले एमसीसीको पक्षमा किन उभिने भन्दै बहुमत पुर्याउने कुरा सत्ता पक्षको दायित्व भएको दाबी गरे । सत्ता पक्षले पेस गरेको सबै कुरा पारित गराउन प्रतिपक्षले सहयोग गर्ने भन्ने कुरा नहुने भन्दै उनले एमसीसी पनि सत्ता पक्षकै दायित्व भएको बताए ।
उनले एमाले प्रतिपक्षमा भएकाले एउटामात्र भूमिका रहेको भन्दै एमसीसीका बारेमा पक्ष कि विपक्षमा खुल्न चाहेनन् । उनले पछिल्लो अवस्थाबारे नेपाली कांग्रेसँग भइरहेको कुराकानी सकरात्मक भएको बताए ।