दमौली । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीमा नेकपा (माअोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् ।
प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको सम्मेलनमा उनले माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको प्रष्ट पारे ।
“सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ । गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ,” उनले भने ।
नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गरे । “उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुनसक्छ,” उनले भने ।
एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाएको आरोप लगाए ।