काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुने पनि बताए ।
उनले भने,“मुलुक यतिबेला सबैभन्दा पेचिलो, अप्ठ्यारो ठाउँमा पुगेको छ । विगतमा अत्यन्तै जटिल राजनीतिक अवस्था बनेपछि यो सरकार सबै ठाउँमा ठोक्किएर बनेको हो । यो सरकारसामु एउटा चुनौती आयो । एमसीसी पास गराउन प्रधानमन्त्रीज्यू लाग्नुभयो । एमसीसीबारे माधव नेपालले पहिलो पत्र लेखेको हो । एमसीसीमा आबद्ध हुन पाउँ भनेर । झलनाथ खनाल, डा.बाबुराम भट्टराई उहाँहरु प्रधानमन्त्री हुँदा एमसीसीको प्रक्रियामा सहभागी हुनुभएको छ । तर, यहाँ त प्रधानमन्त्री र रक्षामन्त्री भैसकेकाले पनि नबुझी कमेन्ट गर्ने काम भयो । यो गलत हो ।”
एमसीसी देशको हितमा भएको उल्लेख गर्दै सबै दल एकमत भएर यसलाई पारित गर्नुपर्ने उनले बताए ।
“एमसीसी सम्झौता पारदर्शी छ । फागुन १६ गतेसम्म पास गनुपर्छ । सबै दल एकमत भएर जानुपर्छ । दल ठुलो होइन, देश ठुलो हो । देशको अन्तर्राष्ट्रिय छबि ठुलो हो ।”
उनले देश ठप्प पारेर हिँड्ने कुरा कांग्रेसलाई मान्य नहुने धारणा पनि राखे । उनले भने,“एमसीसीलाई निवेदन हालेको कांग्रेसले होइन । एमसीसी नेपाल र नेपालीको हितमा छ । त्यही भएर हामीले सम्झौतामा हस्ताक्षर गरेको हो । सडकमा नौटंकी र जात्रा देखाइयो । एमसीसी ठिक छ कि छैन भनेर पढ्नुहोस् । अनुदानको विरोध गर्नुहुँदैन । ऋणमा रमाउने, अनुदानमा गाली गर्ने चरित्रसँगै जान सक्दैन,” उनले भने ।