प्रचण्ड र माधवले सरकारमा बस्नै नैतिक अधिकार गुमाइसके : सञ्जय गौतम

283

काठमाडौँ । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललका पार्टीले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाइसकेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने,“उहाँहरु अब सरकारमा बस्नै नैतिक अधिकार गुमाइसक्नुभएको छ । यो गठबन्धनमा रहने कुरा पनि गुमाउनुभएको छ ।”

एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले दोहोरो भूमिका खेलेको उनको टिप्पण छ । उनले भने,“उहाँहरु सरकारमा पनि हुनुहुन्छ । क्याबिनेटमा झन्डा पनि हल्लाउनु भएको छ । अर्कोतिर सडकमा मुर्दावाद पनि भन्दै हुनुहुन्छ । यो भूमिका राम्रो होइन ।”

उनले एमसीसी सम्झौता हुँदासम्म माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सम्झौताको प्रक्रिया अघि बढेको सुनाए । “त्यसो हो भने उहाँहरु सबै राष्ट्रघाती हुन् नि त , हिजो एमसीसी टेबल भयो । एमसीसीको कारण मत विभाजन भएको छ । हामी पनि चिन्ता गरिरहेका छौँ । राजनीतिक दलहरुले स्पष्ट बोल्नुपर्छ । एमालेले पनि स्पष्ट बोल्नुपर्ने हो । प्रचण्डजीको माओवादी केन्द्र पनि स्पष्टरुपमा बोल्नुपर्ने हो । नेकपा (एकीकृत समाजवादी)ले पनि स्पष्ट बोल्नुपर्ने हो । तर, यहाँ द्वेध चरित्र देखियो । मुलुकले निकास पाउनका लागि राम्रो तवरले जानुपर्छ । सदनमा एमसीसीबारे छलफल हुन्छ । यो सदनको कुरा हो । पास हुन्छ कि फेल हुन्छ, त्यो अब सदनमा थाहा हुन्छ । तर, हामीलाई विश्वास छ– यो पास हुन्छ ।”

उनले अमेरिकालाई नेपालमा आउन एमसीसी नचाहिने पनि टिप्पणी गरे । उनले भने,“एमसीसी पास गराउने कुरामा एमालेसँग हामी विश्वस्त छौँ । उ सकरात्मक रुपमा आउँछ । एमसीसी पास गर्छ । एमसीसी पास गर्ने कुरा यो त कलंकको टीका होइन, यो समृद्धिको रातो टीका हो ।”

नेता गौतमले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी प्रस्ताव संसद्मा लैजाँदै गर्दा कांग्रेसले यसको पक्षमा उभिएको स्मरण गराए । उनले भने,“हामी द्वेध मनस्थितिमा छैनौँ । नेपाललाई अन्तर्राष्ट्रिय शक्तिको क्रिडास्थल बनाउ खोजियो । नेपालका कम्युनिस्ट पार्टीको भूमिका देखेर दुःखी छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...