काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले एमसीसी प्रकरणमा नेकपा (एकीकृत समाजवादी)को फाइँफुइँ आजदेखि सकिने भन्दै व्यङ्ग्य गरेका छन् ।
आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल गर्न दिन एकीकृत समाजवादी सहमत भएको छ । शनिबार बसेको एकीकृत समाजवादीको स्थायीक कमिटी बैठकले जस्ताको तस्तै एमसीसी पारितमा आफ्नो सहमति नरहे पनि छलफलका लागि संसद्मा पेस गर्न भने अवरोध नगर्ने निर्णय गरेको हो ।
साथै एमसीसी सम्झौता संसद्मा पेस हुँदा मन्त्रीहरुले पक्षमै मत दिनुपर्ने तर त्यही पार्टीका अन्य सांसद्ले बहिस्कार गर्न पाउने सहमति भएको खबर पनि सार्वजनिक भएको छ ।
यसैलाई कटाक्ष गर्दै पूर्वसञ्चारमन्त्रीसमेत रहेका नेता बास्कोटाले नाम नलिइकन एकीकृत समाजवादीलाई ‘जस्केलाबाट आएको नक्कली पार्टी’ को उपमा दिँदै यसको फाइँफुइँ आजदेखि समाप्त हुने टिप्पणी गरेका हुन् ।
“जस्केलाबाट जन्मेको एउटा नक्कली पार्टीको फाइॅंफुइॅं पनि आजबाट धुलीसात हुने भएछ,” बास्कोटाले समाजिक सञ्जालमा कटाक्ष गर्दै लेखेका छन्,“मन्त्रीहरुले भोट हाल्ने नेताहरुले बहिष्कार गर्ने, समाजवादी कायदा !”